शिव भण्डारी
लन्डन – बेलायतमा ‘प्रतिभा नक्षत्र’को छैटौँ संस्करण ऐतिहासिक बनेको छ ।
नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ बेलायतमा ‘प्रतिभा नक्षत्र–६’ भव्य रूपमा सम्पन्न भएको छ।
अगस्ट १७ तारिख आइतबार लण्डन वुल्विच स्थित सेन्ट जर्जेस ग्यारिसन हलमा सम्पन्न कार्यक्रममा बेलायत र यूरोपमा बसोबास गर्ने नेपाली बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न प्रस्तुति र प्रतियोगिता आयोजना गरिएको थियो।
सन् २०१७ देखि नियमित रूपमा हुँदै आएको ‘प्रतिभा नक्षत्र’ यसपटक पनि गुल्मेली प्रथम नौमती बाजा, पाईपर, धिमे बाजा सहित लाखेनाच, कुमारी नाच लगायतका मौलिक सांस्कृतिक प्रस्तुति तथा नेपालीपन झल्काउने स्टलहरूले थप आकर्षक बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले ‘प्रतिभा नक्षत्र’ले बेलायतस्थित नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति र मौलिकता नबिर्सन प्रेरित गरेको भन्दै समुदायमा यसले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा ‘बाल नक्षत्र’ र ‘युवा नक्षत्र’ गरी दुई समूहमा प्रतिस्पर्धा भएको थियो । बाल नक्षत्रतर्फ सुआग्या केसी विजयी भइन् भने फस्ट रनर अप आसिया भट्टराई, सेकेन्ड रनर अप सुमिना लिम्बू बने।यसैगरी युवा नक्षत्रतर्फ प्रथम ईभाना न्यौपाने फस्ट रनर अप मनसुना सारु मगर र सेकेन्ड रनर अप डायमण्ड सारु मगर घोषित भए। 

विजेताले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। बाल नक्षत्रतर्फ प्रथम हुनेले पाँच सय पाउण्ड, द्वितीयले चार सय पाउण्ड र तृतीयले तीन सय पाउण्ड सहित ट्रफी तथा प्रमाणपत्र पाए। युवा नक्षत्रतर्फ प्रथम हुनेलाई ७ सय पाउण्ड, द्वितीयलाई ६ सय पाउण्ड र तृतीयलाई ५ सय पाउण्ड सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
निर्णायक मण्डलमा डा. रक्षा थापा, सुशील प्रजापति, टंक धमला, किरण प्रधान र एलिना गुरूङ रहेका थिए।
कार्यक्रममा विभिन्न तहबाट अतिथि कलाकार, संघ–संस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। गुल्मी प्रथम नौमति बाजा यूकेले अतिथिहरूलाई न्यानो स्वागत गरेको थियो।
कार्यक्रममा सुभकामना बेलायत भ्रमणमा रहनु भएका यात्री मिडिया प्रालिका प्रमुख एबम बरिस्ठ पत्रकार टिकाराम यात्रीले दिएका थिए।
परिकल्पनाकार राजेन्द्र खसले ‘प्रतिभा नक्षत्र’ले नेपाली भाषा, संस्कृति र मौलिकतालाई संरक्षण गर्न विशेष योगदान पुर्याउँदै आएको उल्लेख गरे। उनले यसपटकको संस्करण ऐतिहासिक बनेको भन्दै आगामी वर्ष अझ परिष्कृत रूपमा आयोजना गरिने प्रतिबद्धता जनाए।
कार्यक्रमको सञ्चालन लक्ष्मण श्रेष्ठ, राजेश बर्देवा र सिमिरा लामाले गरेका थिए भने स्वागत मन्तव्य संरक्षक मनिष श्रेष्ठले राखे भने धन्यवाद ज्ञापन अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए। 











