लन्डनमा २४ अगस्टमा हुने १६ औं ’नेपाली मेला’ को भब्य तयारी

तस्बिर मिलन तमु गोर्खा मिडिया

लन्डन । बेलायतमा अगस्ट २४ हुने १६ औं नेपाली मेलाकोतयारी पूरा भएको आयोजक तमुधीं यूकेले जनाएको छ ।
तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी मेला तयारी पूरा भएको जानकारी दिइएको हो। नेपाली दूतावासको सहकार्यमा हुने मेला केम्पटन पार्क रेस कोर्समा हुनेछ ।

संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरूको परिचय दिएका थिए ।

मेला संयोजक एवं संस्थाका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार झण्डै ५१ हजार पाउण्ड खर्च हुने अनुमान छ । मेलामा विभिन्न जातजाति र संघसंस्थाको झांकी, लोकसंगीत, नृत्य, हस्तकला प्रदर्शन, परम्परागत भेषभूषा तथा परिकारहरु राखिने छन् । खाना तथा च्यारिटीका झण्डै ७० स्टल र अन्य कयौं आकर्षण रहने जानकारी दिएका थिए।

मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि र उज्यालो नेपाल अभियन्ता नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहनुहुनेछ।

संस्थाका अध्यक्ष जुमकाजी गुरुङले मेलामा सहभागी भएर सफल बनाइदिन अपिल गरेका छन्।