रुकुम पूर्वको जङ्गलमा दर्जनौं सकेट बम फेला

रुकुम । रुकुम पूर्वको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ ।

सिस्ने गाउपालिका वडा नम्वर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो र ड्रमभित्र लुकाइँ राखेको अवस्थामा दर्जन सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।

वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए ।

जंगल स्थित ओडारमा ड्रमभित्र लुकाइँ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाइँ राखेको हुनसक्ने अनुमान गरिएको छ ।