सिड्नी,फागुन-चैत महिनामा वसन्त ऋतुको आगमनलाई उल्लेख गर्दै पूर्वी थारु समुदायमा परापूर्वकालदेखि गाइने गीत “ऋतु बसन्त” लोक संस्कृतिको धरोहरलाई अगाडि बढाउदै युट्युबमा सार्वजनिक भएको छ। झुम्की प्रोडक्सन्सको युट्युब च्यानलमा प्रकाशित भएको यस गीतले थारु समुदायको सांस्कृतिक परम्परालाई डिजिटल माध्यमबाट संरक्षण गर्ने प्रयास गरेको छ।
गीतमा अरुण आर्यण चौधरीको प्रस्तुति रहेको छ भने झुम्की प्रोडक्सन्स र सेविल इन्टरटेन्मेन्टको संयुक्त सहकार्यमा निर्माण गरिएको हो। गायिका सुमिका सरदार र जस्मीन चौधरीको मधुर स्वरले गीतलाई सजिएको छ भने संगीत तथा गीत संयोजन सन्दिप सरदार ले गरेका छन्।

भिडियो निर्देशन शिव चौधरीले गरेका छन् भने रमेश चौधरीको सिनेमाटोग्राफी र लोकेन्द्र राज चौधरीको भिडियो कन्सेप्टले गीतलाई विशेष बनाएको छ। कलाकार आरती चौधरीलाई नितेश चौधरीले सहयोग गरेका छन्। यसअघि पनि झुम्की प्रोडक्सन्सले थारु संस्कृतिका धेरै गीतहरू निर्माण गरिसकेको छ भने यो गीतलाई थारु समुदायले खुसीका साथ स्वागत गरेको छ। यसबाट नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जडत्वसँग जोड्न र सांस्कृतिक धरोहरलाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।






