स्कटल्यान्डमा नेपाली मेलाको भब्य तयारी दूतावासको सेबा देखि नेपाली कला संस्कृति

लण्डन । बेलायतको स्कटल्यान्डमा जुन २३ मा पहिलो नेपाली मेलाको तयारी व्यापक गरिएको छ।वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको हो। कार्यक्रम स्थलमा मै लण्डन स्थित नेपाली दुताबासले राहदानी र कन्सुलर सेवा समेत प्रदान गर्ने भएको छ।स्थानिय समुदायहरुलाई समेत नेपालको संस्कृतिको बारेमा आदानप्रदान गर्ने हिसाबले यो कार्यक्रम गरिएको हो । यसले दुवै देशलाई सांस्कृतिक रुपमा समन्वय गर्दै अगाडि बढ्न सघाउँछ भन्ने मेरो अपेक्षा छ । एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले लण्डन नेपाल न्यूजलाई बताए ।

कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम एनआरएनए यूके केन्द्रिय सदस्य शसि कार्कीले लण्डन नेपाल न्यूजलाई बताए।

बिहान १० देखि सांझ ६ बजेसम्म हुने मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड पनि गरिने दूतावासले जनाएको छ ।

कार्यक्रममा नेपाली लोक संगीतका लोकप्रिय कलाकारद्वय सुनिता दुलाल र धिरज राई, भूमिका साहले आकर्षक सांगीतिक प्रस्तुति दिने भएका छन्।
कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना, एनआरएनए स्कटल्यान्ड तथा यहाँका विभिन्न नेपाली संघसंस्थाहरूको संयुक्त सहयोग र समन्वयमा सम्पन्न गरिने भएको हो ।

मेला स्कटल्यान्डमा बसोबास गरिरहेका नेपाली समुदायका लागि आफ्नो पहिचान, भाषा, भेषभूषा, परम्परा र संस्कृतिको गौरवपूर्ण प्रदर्शन गर्ने महत्वपूर्ण अवसर हुने आयोजकले जनाएका छन्।

कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, लोकगीत, परम्परागत खाना, हस्तकला प्रदर्शनी, पर्यटन सम्बन्धी सूचना केन्द्र, बालबालिकाका रमाइला गतिविधि लगायत विविध प्रस्तुति समावेश गरिनेछ। मेलाले स्कटल्यान्ड तथा युकेमा बसोबास गरिरहेका नेपालीबीच सामाजिक सद्भाव, आपसी एकता र सञ्जाल विस्तार गर्न समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डले स्कटल्यान्डबासी तथा युकेबासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा भव्य र सभ्य रूपमा सहभागी भई नेपाली संस्कृति विश्वसामु चिनाउन सहयोग गर्न हार्दिक आग्रह गरेका छन्।