लन्डन– भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएको दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित सिनेमा ‘छक्का पन्जा’ बेलायत पनि भित्रिने भएको छ ।
छक्का पन्जा आगामी १७ सेप्टेम्बर साँझ ६ बजे अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको छ । नेपलिज इन्टरटेन्मेन्ट यूकेका वीरेन्द्र खड्काले नेपालमा प्रदर्शन भएको साता दिनमै बेलायतमा पनि प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले ल्याएको सामाजिक विचलन पक्ष समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत ६० कलाकार छन् ।
कलाकार दीपकराज गिरीले फिल्म देशभर नयाँ रेकर्ड राख्ने क्रममा रहेको बताए । शनिबार गोपीकृष्णको ६ वटै हल हाउसफूल भएको थियो । यसअघि कुनै पनि फिल्म गोपीकृष्णका ६ वटै हल हाउसफूल भएर प्रदर्शन भएको थिएन ।
यो फिल्म निर्माण टोलीले यसअघि बनाएका ६ एकान ६ र वडा नम्बर ६ पनि चर्चित भए ।






