प्रचण्डलाई चुरेभावरको चेतावनी, फाष्ट्र ट्रयाक भारतलाई दिए आन्दोलन गर्ने घोषणा

काठमाडौं– चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भारतको इशारामा संविधान संशोधन हुन लागेको आरोप लगाएको छ । कसैलाई खुसी बनाउनकै लागि संविधान संशोधन हुन विडम्बनापूर्ण रहेको सो पार्टीले जनाएको छ ।
रिपोर्टर्स क्लव नेपालमा आईतबार पत्रकार सम्मेलन गरेर चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशोधन गरेर मधेसी मोर्चाका अराजनीतिक माग कुनै पनि हालतमा पूरा गरिनु नहुने बताए ।
‘कसैलाई खुसी पार्न भारतको इशारामा संविधान संशोधन हुनु दुःखद् हो’, उनले भने, ‘भारत भ्रमण अगाडि नै संविधान संशोधनको प्रस्ताव किन दर्ता गर्नु प¥यो ? संशोधनमा जानुअघि विभिन्न दलहरूसँग भएका सहमतिको पनि ध्यान दिनुपर्छ ।’

अंगीकृत नागरिकलाई उच्च पदमा लैजान नहुने चुरेभावर पार्टीको माग छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘अंगीकृत नागरिकबाहकलाई रैथाने नागरिकसरह अधिकार दिनु हुँदैन, भाषाको नाऊँमा हिन्दीलाई मान्यता दिन सकिँदैन, राष्ट्रिय सभा र राष्ट्रिय सभालाई जनसंख्याका आधारमा बनाउनेजस्ता कथित सहमति नेपाली जनतालाई कुनै पनि हालतमा मान्य छैन ।’

सिंगो तराईलाई दुई प्रदेशमा सीमित गर्ने योजनाको विरोध गरेको चुरेभावर राष्ट्रिय पार्टीले मधेसी मोर्चाले भने जस्तो गरेर संविधान संशोधन हुन नहुने बताए ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा फास्ट ट्रयाक, नौमुरेजस्ता कुनै पनि खाले राष्ट्रघाती र देशघाती सम्झौता नगर्न चुरेभावर पार्टीले सरकारलाई सचेत गराएको छ । तराईको हुलाकी मार्ग समयमा छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्र हित विपरितको सम्झौता गरे आन्दोलन गर्ने घोषणा समेत गरे ।