भारत भ्रमणअघि संशोधन प्रस्ताव ‘नआउने’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि बढ्ने सम्भावना करिब टरेको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक ‘तुइने’ खतरा औंल्याउँदै दाहालको भारत भ्रमणअघि संशोधन प्रस्ताव अघि नबढाउने मनसाय नेताहरूले बनाएका हुन् ।

औपचारिक/अनौपचारिक छलफलमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्न संशोधन विधेयक अघि बढाउने तयारी गरेका थिए । ‘मोर्चाका नेताहरू सहमत हुनुभयो भने भारत भ्रमणअघि नै प्रस्ताव अघि बढ्न पनि सक्ला,’ उच्च स्रोतले भन्यो, ‘तर उहाँहरूले नै एमालेले मान्दिएन भने के गर्ने भन्दै पछि हटेपछि सम्भावना कम देखिएको हो ।’

प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको गठन र प्रादेशिक भाषालगायत विषयमा संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनेको छ । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारका बेला गठित एमालेसमेत संलग्न रहेको कार्यदलस्तरमा भएको छलफलका आधारमा कांग्रेस र माओवादीले साझा धारणा बनाएका हुन् । यही साझा धारणामा टेकेर दुई दल मधेसी मोर्चाको समर्थनमा संशोधनको मस्यौदा ल्याउने तयारीमा छन् ।