कैदीलाई गोलभेडामा सिमकार्ड !

लागूऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा जेलसजाय भुक्तान गरिरहेका एक नाइजेरियालीलाई गोलभेडाभित्र सिमकार्ड राखेर दिन लागेको आरोमा प्रहरीले निमेष कपालीलाई पक्राउ गरेको छ। जेलमा ती नाइजेरियालीलाई भेट्न पुगेका कपालीले गोलभेडा बोकेको देखेपछि प्रहरीले जाँच गर्दा सिमकार्ड फेला परेको थियो। कारागारका सुरक्षा प्रमुख डीएसपी मोहन परियारका अनुसार निमेषले आफ्नी काकीले भनेअनुसार कैद सजाय भुक्तान गरिरहेका नाइजेरियाली जेम्स एपिजोनलाई गोलभेडाभित्र राखेर सिमकार्ड लगिदिएका थिए।
प्रहरीका अनुसार जेम्सले कपालीकै काकीसँग विवाह गरेका थिए। उनी सिन्धुपाल्चोक कारागारबाट कन्द्रीय कारागार चलान भएका कैदी हुन्। डीएसपी परियारका अनुसार वैशाख १२ गतेअघि नै जेम्स सिन्धुपाल्चोकबाट केन्द्रीय कारागारमा चलान भइसकेका थिए । नेपाली भाषासमेत जानेका जेम्सले कारागारभित्र कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेकी विक्की भनिने सइद फारुकसँग घनिष्ठता बढाइसकेका थिए।
फारुक पनि सिन्धुपाल्चोक कारागारबाटै केन्द्रीय कारागारमा चलान भएर आएकी हुन्। फारुकले सिन्धुपाल्चोकबाट चलान हुँदा सातुको पोकाभित्र मोबाइल र सिमकार्ड लुकाएर ल्याएको तथ्यसमेत प्रहरीले फेला पारेको छ। ‘जेम्सले फारुकसँग मिलेर जेलभित्रैबाट एसएमएससमेत आदानप्रदान गर्ने गरेका रहेछन्। हामीले मोबाइल पनि खोसेका छौं’, डीएसपी परियारले भने। केन्द्रीय कारागार प्रशासनले कपालीविरुद्ध काठमाडौं जिल्ला अदालतमा कारागार ऐनअनुसार मुद्दा दायर गरेको छ। कारागारभित्र र बाहिरी पेरिमिटरमा हुने आपराधिक घटना सम्बन्धमा जेलर आफैंले छानबिन गर्न पाउँछन्।