काठमाडौ– निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि सरकारका मन्त्रीहरु आयोगको अनुमति लिएर मात्रै उपत्यकाबाहिर हिँड्न थालेका छन् । काभ्रेको बेथानचोक गाँउपालिमा भइरहेको पुराण–महायज्ञमा सहभागि हुन परराष्ट्रमन्त्री प्रकाशशरण महतले आयोजकमार्फत आयोगबाट अनुमति लिएका हुन् ।
बेथानचोकमा जारी पुराण कार्यक्रममा मन्त्रीलाई सहभागी गराउन आयोजकले निर्वाचन आयोगसँग सम्पर्क गरेका थिए । मन्त्री जिल्लामा जाँदा आचारसंहिता उल्लघन हुने हो कि होइन भनेर बुझ्न आयोगसँग सम्पर्क गरेको आयोजकले जनाएको छ ।
आयोगले गत फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता जारी गरेको थियो ।
आयोगले मन्त्रीहलाई सरकारी कामबाहेक अन्य गतिबिधि गर्न रोक लगाएपछि मन्त्रीहरु जिल्लामा हुने सामान्य कार्यक्रमका लागि समेत आयोगसँग अनुमति माग्न थालेको आयोग स्रोतले जानकारी दियो ।
आयोगले मन्त्रीहरुलाई सरकारी कामका लागि काठमाडौं बाहिर रोक नलगाएपनि राजनीतिक गतिबिधी गर्न भने रोक लगाएको हो । मन्त्री महत आयोगको अनुमतिमै सोमबार बिहान पुराण कार्यक्रममा सहभागी हुन काभ्रेको बेथानचोक गाँउपालिका जाँदैछन् ।






