गोर्खा कपको वृहत तयारीमा तमुधिं युके

लण्डन । बेलायतको नेपाली समुदायमा अत्यन्त क्रियाशिल संस्था तमु धिं युकेले १७ औं गोर्खा कपको तयारीमा जुटेको छ । गत शनिबार १६ मार्चका दिन तमु धिं युकेको वैठक बसी गोर्खा कपको तयारी गरेको हो ।तमुधिं युकेले आयोजना गर्ने यसपटकको १७ औं गोर्खा कप फुटबल प्रतियोगिता पनि बिगतमा जस्तै अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा २६ मे आइतबार हुदैछ।

तमु धिं युकेका खेलकुद सचिव एवं गोर्खा कपका संयोजक क्याप्टेन पिताम्बर गुरुङले पावर पोइन्टमार्फत गोर्खाकपको आवश्यक तयारीको खाका प्रस्तुत् गरेका थिए । उनले टिम दर्ता शुल्क, पुरस्कार, प्रवेश शुल्क, हेल्थ एण्ड सेप्टी लगायतको बिषयमा जानकारी गराएका थिए।

कार्यक्रममा बेलायत भ्रमणमा रहेका नेपाली सेनाका कर्णेल गौरव गुरुङलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । सो अवसरमा कर्णेल गुरुङले ‘बेलायतका तमु दाजुभाइ तथा दिदिबहिनीहरुसंग भेट्ने चाहना थियो’ भन्दै सो चाहना पुरा भएको जनाउदै आफ्नो भ्रमण र आपूले प्रकाशन गरेको कृतिका बारे बोले । उनले कृति तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङलाई प्रदान गरे भने अध्यक्ष गुरुङले तमु धिं युकेको वार्षिक मुख पत्र फें्रसी र मायाको चिनो दिएका थिए ।

बैठकमा तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमा गुरुङलाई उनीहरुले संस्थालाई गरेको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरुलाई अध्यक्ष गुरुङ तथा आमा समूहकी अध्यक्ष जगतमाया गुरुङले सो सम्मान गरेका थिए ।

बैठकले तमुधिं युकेको प्यानिङ्ग एण्ड डिप्लोप्मेन्ट कमिटि समेत गठन गरेको छ । सो कमिटीमा अध्यक्ष नन्दजङ्ग गुरुङ, सल्लाहकारहरु हर्क बहादुर गुरुङ, कृष्ण प्रसाद गुरुङ, मधुकर गुरुङ, हरि (काजी) गुरुङ, क्या. चित्र गुरुङ, मेजर कृष्ण गुरुङ, पूर्व अध्यक्ष कमल गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ र सूर्यप्रकाश गुरुङ रहेका छन् । त्यस्तै, सो कमिटिको सल्लाहकारमा संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, पूर्व अध्यक्ष मेजर डमर घले एमबिई, सल्लाहकार मेजर खुशीमान गुरुङ र क्याप्टेन तिर्थमान गुरुङ रहेका छन् ।
बैठकमा तमु धिं युकेका सल्लाहकार एकेन्द्र गुरुङद्वारा रचित गोर्खा कप शिर्षकको गीतलाई अध्यक्ष गुरुङले विमोचन गरेका थिए । त्यस्तै, सल्लाहकार ईन्स्पेक्टर खेम बहादुर गुरुङद्वारा लेखन तथा प्रकाशन भएको गुरुङ भाषाको त्रिभाषिक शब्दकोषलाई अध्यक्ष गुरुङ, तमु फोरमका निर्देशक क्या. राजु गुरुङ र गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले विमोचन गरेका थिए ।

बैठकमा तमु धिं युकेका अध्यक्ष गुरुङले शिव कल्चरल एण्ड कम्युनिटी युकेले हालै खरीद गरेको भवन सहयोगार्थ १० हजार पाउण्डको चेक कम्युनिटी सेन्टरका सल्लाहकार भिम बानियाँ र महासचिव बिक्रम भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने महासचिव तुलाराम गुरुङले बैठक संचालन गरेका थिए ।

बेलायतमा रहेका नयाँ  पुस्ताका नेपाली किशोर किशोरी हरुलाई खेल मार्फत समाज , समुदाय र देश नेपाल सम्म जोडन सकिने विश्वास आयोजकको रहेको छ ।  गोर्खा कप लाई बेलायतमा एक ठाउँमा  सबैभन्दा धेरै नेपालीको जमघट हुने कार्यक्रमको रुपमा लिईन्छ ।

सन् २००३ देखि प्रत्येक वर्ष हुँदै आएको गोर्खा कप प्रतियोगिताको स्तर क्रमश: वृद्धि हुनुका साथै बेलायतस्थित सिंगो नेपाली समुदाय र स्थानीय गैरनेपाली खेलप्रेमीको आकर्षण बढ्दै गएको आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *