काठमाडौं– नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिल्खाया गाविस– २ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको हो । उनीहरुको नाम खुल्न सकेको छैन । दिउँसो एक बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिनुभयो । सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो ।
खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिनुभयो ।
दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल पुगेका थिए ।
अहिले चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरिरहनु भएको छ । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताउनुभयो ।
अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उहाँकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका ध्रुवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।






