सिड्नी । नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरोम (एनएडिएफ) अस्ट्रेलियाले आफ्नो रजत जयन्ती भव्य रुपमा मनाएको छ । फोरोमले आफ्नो स्थापनाको २५ औँ वर्षको अवसरमा १६ मार्च शनिवार ईन्द्रेणी फंक्सन सेन्टरमा सरोकारवालाहरुकाबीचमा अन्तरक्रिया सहित विविध कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीति बदलियोस् भन्ने चाहना आम नागरिकको रहेको भन्दै आफैबाट रुपान्तरणको प्रयास गर्नुपर्ने बताए । फाल्गुण २१ पछिको राजनैतिक घटनाक्रमलाई ईङ्कित गर्दै उनले सरकारबाट बिहिरिने र दोहोरीने प्रवृत्तिले मात्रै देश विकास सम्भव नहुने बताए । हिंसात्मक द्धन्द भन्दा पनि राजनैतिक अस्थिरताले देश संकटमा पर्ने उनको भनाई थियो । नेपाल निर्माण गर्न नेपाल भित्रकै जनशक्ति प्रधान अवय हुने भन्दै उनले नेपाली डायस्पोराको भूमिका यसमा झनै महत्वपूर्ण रहँदै आएको बताए । उनले नेपाल नेपाल मात्रै नभएर नेपाली भुगोल नभएपनि नेपाली भावना रहेको डायस्पोरा रहेको स्पष्ट पार्दै डायस्पोरामा रहेका नेपालीहरुलाई प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका सह-महामन्त्री भीष्मराज आङ्दम्बेले विदेशमा सिकेका सीप र सकारात्मक उर्जा लिएर नेपाल आउन आग्रह गरेका थिए । कार्यक्रममा एनआरएनए उपाध्यक्ष बिनोद श्रेष्ठ , एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल,रिजनल कोअर्डिनेटर दिनेश पोखरेल, आईसीसी सदस्य दुर्गा आचार्य, प्रवासी एकता मञ्चका रविन कंडेल, ओएनयूएफका राजन थपलिया, प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स संयोजक कृष्ण सापकोटा, जनसम्पर्क समिति अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य संयोजक शितल गिरी, एनएडिएफ पूर्व अध्यक्षहरु सुरेन्द्र सिग्देल, महेन्द्र लम्साल, डिल्ली ढकाल, गणेश केसी र विवेक थापा लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरुले अस्ट्रेलियामा रहेका नेपालीहरुले सीकेको सिपलाई प्रयोग गर्ने गरी नेपालमै लगानी गर्ने र नेपाल फर्काउने वातावरण मिलाउन आग्रह गरेका थिए । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्षहरु, नारी निकुञ्ज अस्ट्रेलिया संयोजक सगिंता चापागाईँ, हिमानी ट्रष्ट अस्ट्रेलियाकी अञ्जना बस्नेत कार्की, पोखरा समाज अस्ट्रेलियाका तारा गुरुङ, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, एन्जाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । एनएडिएफ अस्ट्रेलियाका अध्यक्ष भिष्म भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रकाश हुमागाईँ र नारी निकुञ्ज अस्ट्रेलियाका पूर्व संयोजक प्रतिज्ञा अधिकारीले गरेका थिए ।






