सिड्नी । फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा सिड्नीमा होली हंगामा २०२४ आयोजना गर्ने भएको छ । एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) को आयोजनमा २३ मार्च शनिबार रकडेलस्थित इन्द्रेणी फंक्सन सेन्टरमा नेपालका चर्चित कलाकारको साथमा होली हंगामा हुने भएको हो ।
कार्यक्रममा चर्चित नेपाली सुगम सगींत गायक दिपक लिम्बु, चर्चित नेपाली गायिका अनु चौधरी, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर संगै स्थानीय कलाकार जेनिशा गौतमको बेजोड सांगीतिक प्रस्तुती रहने एन्टाका अध्यक्ष रञ्जित शाहले जानकारी दिए । कार्यक्रमको तयारी व्यापक रुपमा अगाडी बढिरहेको उनको भनाई छ । कार्यक्रममा तराई-मधेशको होली संस्कृति अनुसारका परिकार पुवा सहित भोजपुरी र मैथिली खानाका मौलिक परिकार समेत रहने शाहले बताए । कार्यक्रममा उपस्थित भई होलीमा संलग्न भई मनोरञ्जन लिन उनले अनुरोध समेत गरे ।
एन्टाले विशेष गरी नेपालको तराई क्षेत्रमा मनाईने छठ, होली लगायतका चाडपर्वहरुलाई विशेष रुपमा मनाउँदै आएको छ । नेपालका पर्वहरु सांस्कृतिक सम्पति रहेकाले यीनको संरक्षण र प्रवद्र्धन गर्दै मौलिकता बचाईँ राख्न संस्था क्रियाशिल रहेको एन्टाले जनाएको छ ।






