भोटेकोसीको विवाद मिल्यो

भोटेकोसी जलविद्युत् आयोजनामा देखिएको लामो समयदेखि विवाद औपचारिक रुपमा समाधान भएको छ । सो आयोजनाको प्रवद्र्धक भोटेकोसी पावर कम्पनी र आन्दोलनरत प्रमुख राजनीतिक दलले संयुक्त पत्रकार सम्मेलन गरी विवाद समाधान भएको बताएका हुन् । सो आयोजनाको प्रवद्र्धकले स्थानीय जनतालाई १२ लाख कित्ता सेयर प्रदान गर्ने भएका छन् ।
आयोजनका अध्यक्ष सिद्धार्थशम्शेर राणा, प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापति, नेकपा(एमाले)का नेता अमृतकुमार बोहोरा, नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत, एकीकृत नेकपा(माओवादी)का नेता सुबोध सापकोटा तथा नेकपा–माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले संयुक्त पत्रकार सम्मेलन गरी विवाद समाधान भएको जानकारी दिनुभएको हो ।
काँग्रेसका सभासद्समेत रहनुभएका  बस्नेतले राससलाई दिएको जानकारीअनुसार बुधबार भएको सहमतिअनुसार कम्पनी स्थानीयवासीको मागअनुसार छ प्रतिशत सेयर दिन राजी भएको बताउनुभयो । सहमतिपछि कुल ४५ मेगावाट क्षमताको सो आयोजनाको पुनःनिर्माण गर्ने बाटो खुलेको छ ।
बुधबार राजनीतिक दल, सङ्घर्ष समिति र प्रवद्र्धक कम्पनीबीच सिन्धुपाल्चोकबासीलाई छ प्रतिशत सेयर दिने सहमति भएको थियो । पत्रकार सम्मेलनमा सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत प्रजापतिले अब स्थानीयवासी र राजनीतिक दलले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । सिन्धुपाल्चोकको जुरेमा गत वर्षमा गएको पहिरामा परी सो आयोजनाको प्रसारण लाइन र टावर क्षतिग्रस्त भएको थियो ।
जुरे पहिराका कारण प्रभावित सो आयोजनाले सेयर दिनुपर्ने माग गर्दै स्थानीयवासीले ९७ दिनदेखि आन्दोलन गर्दै आएका थिए । स्थानीयवासीको आन्दोलनका कारण सो आयोजनाले रु एक अर्ब २० करोड घाटा व्यहोरेको थियो ।