अस्ट्रेलियामा हुर्कँदै गरेका दोस्रो पुस्ताले गाए नेपाली राष्ट्रिय गान

सिड्नी । अस्ट्रेलियाको हुर्कँदै गरेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै आईरहेको शव्दमालाको नवौँ  गाला डिनर कार्यक्रममा नेपाली दोस्रो पुस्ताले नेपाली राष्ट्रिय गान गाएर नेपालीपन झल्काएका थिए।  २५ नोभेम्बर शनिवार ब्ल्याकटाउनको बाउमेन  हलमा आयोजीत  कार्यक्रम बेलुकी ४ बजेदेखि बेलुकी १० बजेसम्म चलेको थियो । कार्यक्रममा विभिन्न ठाउँका बालबालिकाहरु तथा सिड्नीमा रहेका विभिन्न विद्यालयका बालबालिका र तीनका अभिभावकहरुको उपस्थितिमा उक्त हल खचाखच भरिएको थियो ।

कार्यक्रममा विभिन्न नेपाली गीत संगीतहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा क्याम्प्सी, कार्लटन साउथ, ग्रान्भिल, म्याक्वेरी फिल्ड्स, प्लाट्सवर्ग, पोन्ड्स, वाइटरा पब्लिक स्कुल लगायतका शव्दमाला अन्तर्गतका विद्यालयहरुले विभिन्न प्रस्तुतीहरु राखेका थिए । नेपाली राष्टिय गान गाएर कार्यक्रम सुरुवात गरिएको थियो ।

बालबालिकाहरु नेपालको विविधिता झल्किने गरी विभिन्न पोशाकमा सुसज्जित भएर उपस्थित भएका थिए । उनीहरुले नेपाली गान, नेपाली गीत र विभिन्न प्रस्तुती दिँदा नेपालमै भएको भान गराएको थियो ।

कार्यक्रममा शव्दमालाका प्रिन्सिपल बिष्णु घिमिरेले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै सबैको टिमवर्कले यहाँसम्म संस्था आईपुगेको भन्दै धन्यवाद व्यक्त गरेका थिए  । उनका अनुसार शव्दमालाका ७ वटा विद्यालयमा झण्डै ३ सय ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।  कार्यक्रममा फेडरेशन अफ कम्युनिटी ल्याङ्वेज स्कुलकी लुसिया जोन्स, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै शैक्षिक संयोजिका जया थापा सोदेम्बाले शव्दमालाको पाठ्यक्रमको बारेमा जानकारी दिएकी थिईन् । बेलुकी साढे ९ बजेसम्म चलेको कार्यक्रममा शव्दमालाका अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अभिभावक अर्जुनमणी पौड्याल र सल्लाहकार अर्चना घले गुरुङले गरेका थिए। २०१० बाट सुरु भएको शव्दमालामा राजन क्षेत्री संस्थापक अध्यक्ष रहेका थिए । त्यसपश्चात क्रमश  समिन्द्र श्रेष्ठ, विक्रम शर्मा खरेल, प्रकाश पौड्याल, अर्चना घले गुरुङ, अचला तिमिल्सिना अध्यक्ष भएर शव्दमाला सञ्चालन गरेका थिए भने हाल विष्णु घिमिरे अध्यक्ष रहेका छन् ।