सिड्नी । नेपाली हिन्दू समाज अष्ट्रेलियाले हिन्दु महिलाहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसर पारेर हरितालिका तिज महोत्सव २०२२ गर्ने भएको छ ।
समाजले यही अगष्ट ३० तारिख मंगलबार ग्रानभिल पार्क सिड्नीमा महोत्सव सगैं अन्य पुजाआजाको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न किसिमका पुजा पाठसगैं, नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती र अन्य विविध रमाईलो तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
उक्त अवसरमा आराध्यदेव पशुपतिनाथ भगवानको मन्दिर स्थापना गराई विहान ९ बजेदेखि साँझ ७ बजेसम्म विषेश रुद्राभिषेक, मध्यान्ह आरती, विल्वपत्र तथा दुधद्वारा शिवार्चन गरी प्रत्यक्ष सन्ध्या गंगा आरती गरी वाचन प्रविण श्री दिनवन्दु पोखरेलवाट शिव महिमा समेत वाचन हुने समाजकी अध्यक्ष पन्चु शर्माले जानकारी दिईन् ।
कार्यक्रममा गायिका एलिना चौहान र मेलिना राईले तीज गीतमा आफ्नो सागीतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । ख्याति प्राप्त कलाकारहरुबाट सांस्कृतिक नाच गान सगैं पुजाआजा र अन्य रमाईला कार्यक्रम आयोजना गरिएको समाजका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले जानकारी दिए।
कार्यक्रमको भव्य रुपमा तैयारी भईरहेको र उठेको रकम प्रस्तावित मन्दिरका लागि प्रदान गरिने पण्डित ढोडारीले बताए । अस्ट्रेलियामा रहेका नेपालीहरुको आस्थाको धरोहरको रुपमा रहेको पशुपतिनाथ मन्दिरको निर्माणका लागि अन्य सघंसंस्थाहरुले पनि सहयोग प्रदान गरिरहेकाले यस कार्यक्रमबाट उठेको रकम पनि सोही प्रयोजनका लागि खर्च गरिने उनको भनाई छ ।
कार्यक्रम सम्पन्न गर्न गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलिया, नारी निकुञ्ज अस्ट्रेलिया, भिजन फर मोटिभेसन लगायत अन्य नेपाली सघं संस्थाहरुले सहयोग गरेका छन् । कतिपय सघंसंस्थाले स्वयं सेवक लगायत व्यवस्थापनमा सहयोग गरेको समाजले जनाएको छ ।
एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले एनआरएनएले प्रत्यके वर्ष भक्तजनहरुलाई मध्येनजर गरी बस उपलब्ध गराउँदै आएकोमा यस वर्षपनि एउटा बस ग्रानभिल रेल स्टेशनबाट ग्रानभिल पार्कसम्म र अर्को बस विगतका वर्षहरुमा जस्तै मिन्टो रेल स्टेशनबाट मिन्टो मन्दिरसम्म जाने व्यवस्था मिलाएको बताए ।
झापाली समाज अष्ट्रेलियाले बिगतका बर्ष हरु जस्तै यसपाली पनि ग्रान्भिल स्टेशनबाट ग्रानभिल पार्कसम्म बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म कार्यक्रम अवलोकन गर्न र पुजाआजा गर्न जाने श्रद्धालु भक्तजनहरुलाई बसको व्यवस्था गरेको झापाली समाजका अध्यक्ष निरञ्जन प्रसाईंले जानकारी दिए ।
त्यसो त सिड्नीमा नेपालीहरुको स्वामित्व भएको मन्दिर नहुँदा नेपाली हिन्दु चाडपर्वमा मन्दिरमा गएर सहज किसिमले नाचगान गर्न र कार्यक्रम तथा पुजाआजा गर्न असहज भईरहेको अवस्थामा हिन्दु समाजले गरेको यस किसिमको कार्यक्रमले केही राहत प्रदान गर्नेछ । साथै यस्तै विभिन्न कार्यक्रमबाट सकंलित रकमले कुनै दिन अस्ट्रेलियामा हिन्दु मन्दिर स्थापना हुन सकेमा नेपाली समुदायका व्यक्तिहरुलाई विभिन्न कार्यक्रम गर्न सहज हुनेछ ।






