सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए वमन फोरम) नारी निकुञ्ज अस्ट्रेलिया तास्मानियाले नारीहरुको महान पर्व हरितालिका तीजलाई भव्य रुपमा मनाएको छ । संस्थाले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि तीज पर्वको अवसर पारेर तीज गीत नृत्य संगै विविध कार्यक्रम सम्पन्न गरेको छ ।
१८ सेप्टेम्बर शुक्रवार तीज विशेष रमाईलो कार्यक्रम संगै मौलिक नेपाली तीज गीत, नेपाली खाना, नृत्य र डिजेमा नाचगान गर्ने सहित शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गरी भव्य रुपमा मनाईएको नारी निकुञ्ज तास्मानियाको सहसंयोजक करुणा अधिकारीले जानकारी दिईन् । बिहान १० बजेदेखिसुरु भएको पुजाआजा कार्यक्रम १२ बजेसम्म चलेको थियो । त्यसपश्चात बेलुकी ४ बजेसम्म सागींतिक, नाचगान र अन्य रमाईलो सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा परदेशमा तीज समसामयिक विषयमा नाटक प्रस्तुत गरिएको थियो भने नृत्य सहित डिजेको प्रस्तुती रहेको थियो । कार्यक्रममा उपस्थित महिला दिदी बहिनीहरुले नाचगान, खानपान संगै रमाईलो गरेका थिए ।
कार्यक्रममा नारी निकुञ्ज अध्यक्ष आरजु रिजाल रजकले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूण लाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा आकर्षक पुरस्कार सहितको लक्की ड्र समेत राखिएको थियो । कार्यक्रमको सञ्चालन ज्ञानु कंडेल र करुणा अधिकारीले गरेका थिए ।कार्यक्रमको मुख्य प्रायोजक इन्ट्याक माइग्रेसनले गरेको थियो भने सह प्रायोजकमा भने डेरवेन्ट् फाइनाइन्स रहेको थियो । 






