सिड्नीमा ’म यस्तो गीत गाउँछु २’ ले पायो दर्शकको माया

सिड्नी । सुपरहिट फिल्म नेपाली चलचित्र ’म यस्तो गीत गाउँछु २’ ले अस्ट्रेलियामा दर्शकको अत्यधिक माया पाएको छ । सिड्नीमा शुक्रवार उक्त चलचित्र प्रदर्शन गरिएको थियो ।

दर्शकहरुको बाक्लो उपस्थिति र चलचित्रकी मुख्य नायिका पुजा शर्मा, निर्देशक सुदर्शन थापा लगायतको सहभागीतामा चलचित्र प्रदर्शन गरिएको हो । नेपालीहरूको बाक्लो बस्ती रहेको हस्र्टविल को सिविक थीयटरमा जुलाई २२ तारिख शुक्रवार साँझ ६ बजे फिल्म प्रदर्शन गरिएको हो ।

अपेक्षा भन्दा बढी दर्शकको उपस्थिति एवम् उल्लासमय वातावरणका साथ चलचित्र प्रदर्शन भएको कलर्स अफ नेपाल ईभेंट कम्पनीका प्रबन्धक बिक्रम पौडेल पौडेलले जानकारी दिए ।

लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको वितरण गर्दै आएको नेपसिने संगको सहकार्यमा “कलर्स अफ नेपाल ईभेंट कम्पनी“ ले सिड्नीको प्रदर्शन अधिकार पाएको हो ।

सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको अभिनय छ ।

प्रेम कथामा आधारित चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।