काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् ।
पछिल्ला दिन प्रमुख साहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित हुने गरेका छन् । यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले साहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका हुन् ।
‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगरपालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख साह र अल्फा बिटाका सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई साहले उक्त संरचना भत्काएका थिए ।
‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।
बस्नेतले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । ‘बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला,’ बस्नेतले फेसबुकमा लेखेका छन् ।
साथै, उनले बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको ? भन्दै प्रमुख साहलाई दुई प्रश्न समेत गरेका छन् । उनले लेखेका छन् – नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? वा हामी संग नजिक भएर या फोटो लिएको कारण ?
बस्नेतले पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै भन्दै दोश्रो कारण हो भने सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने भन्दै धम्की समेत दिएका छन् ।






