शिब भण्डारी लन्डन । बेलायतको मिडल्याण्डमा नेपालकै गाउँघरमा गरिने तीजको नाचगानको झझल्को गराउने सांगीतिक तीज ‘धमाका’सम्पन्न भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालका तीजको अवसर पारेर शान्ति नेपाली समाज बेलायतको आयोजनामा अगष्ट २२ तारिख सोमबार बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा संस्थाका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षतामा नेपालबाट आएका राष्ट्रिय कलाकारको सागींतिक प्रस्तुतिका बीच तिज बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुको तीजका गीतको नृत्य प्रस्तुत गरिएको थियो । दोस्रो चरणमा भने नेपालका चर्चित कलाकारहरु राजन कार्की, शान्ति रानी परियार, भूमिका शाहा, रिना थापा मगर लगायतले विभिन्न गीतसंगीत र लाइभ दोहोरी प्रस्तुत गरेका थिए । त्यस्तै डिजे हेम विष्टले सहभागीहरुलाई नचाएका थिए ।सोही अवसरमा नारायण बुढाथोकीले संयोजन गरेको नौमती बाजामा लाखे नाच लगायतका सांस्कृतिक प्रस्तुति समेत कार्यक्रमको विशेष आकर्षणका रुपमा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले समाजले धर्म संस्कृति र कलालाई जीवन्त राख्न गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले नयाँ पुस्तालाई समेत यो कार्यक्रमले सन्देश दिएको भन्दै प्रशसां सहित शुभकामना दिएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकताका विषयमा बोलेका थिए । उनले अब नागरिकता लिएर ढुक्क भएर व्यवसायमा लगानी गर्न आग्रह गरे । सोही अवसरमा एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनारले तीजको शुभकामना दिएका थिए ।संस्थापक अध्यक्ष काशिराम शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेसम्म संस्थाले गरिरहेका विभिन्न कार्यहरुका विषयमा प्रष्टाएका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारीले कार्यक्रममा सम्बोधन गर्दै सम्पूर्णलाई हरितालिका तीजको शुभकामना व्यक्त गरे । उनले तीजको अवसर पारेर समाजले दिदी बहिनीहरुबीच एक आपसमा भेटघाट हुने सुख दुःख साटासाट गर्ने र नाचगान तथा रमाईलो सगैं दरखाने कार्यक्रम आयोजना गरेर नेपालमै बसेर तीज मनाएको महसुस दिन खोजेको बताए । साथै विभिन्न स्थानबाट कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने र कार्यक्रममा उपस्थिति भएकोमा सम्पूर्ण प्रति आभार व्यक्त गरे ।

सांस्कृतिक सयोंजन गरेकी सिता पौड्याल घिमिरेले स्थानीय कलाकारहरुको सयोंजन गरेकी थिईन् । कोषाध्यक्ष दिनेश कडेंलले प्रवेशमा सहयोग गरेका थिए । भने संस्थाकी कार्यसमिति सदस्य दिब्या श्रेष्ठले स्वागत मन्तव्य दिइन् ।कार्यक्रमको सञ्चालन सचिब महेन्द्र काफ्ले र सह-सचिब पदम शाहीले गरेका थिए ।
उक्त अवसरमा कार्यक्रममा निशुल्क प्रवेश गराई दिदी बहिनीहरुलाई विशेष दर खुवाईएको थियो । कार्यसमिति सदस्य राजु खत्रीको सयोंजनमा नेपाली मौलिक परिकारहरु बनाईएको थियो ।
अञ्जु पाठक र सुशिला दवाडी ढकालले अतिथिहरुलाई अतिथि ब्याज लगाएर स्वागत सत्कार गरेका थिए ।कार्यक्रममा दूतावासका द्वितिय सचिव रामबाबु नेपाल,रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट,एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा,एनआरएन युकेका उपाध्यक्ष नारायण कडेंल, नेपाली सेफ यूके अध्यक्ष कोलेश्वर ढकाल, गल्कोट समाज युके अध्यक्ष भोजराज कडेंल लगायत थुप्रै संघ सस्थाका प्रतिनिधि समारोहमा सहभागी भएका थिए। नेपालबाट आएका अतिथिहरुलाई पनि विशेष सम्मान तथा सत्कार गरिएको थियो ।
भिडियोमा हेर्नुस:
नेपाली महिलाहरुको रंगीलो पर्व हरितालिका तीज नजिकिदै गर्दा बेलायतका बिभिन्न शहरहरुमा तीज कार्यक्रम हरु दिनहुँ जसो आयोजना हुने गरेका छन ।






