सिड्नी । अन्तर्राष्ट्रिय आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ (निम्फा )अस्ट्रेलियाले विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । अगष्ट १३ पिटरसम हलमा बेलुकी ५ बजेदेखि जनजातिका जातिगत विभिन्न प्रस्तुती सगैं अन्य विभिन्न कार्यक्रमका साथ दिवस मनाईएको हो ।
कार्यक्रममा निम्फाका अध्यक्ष सुदर्शन थापा मगरले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै जनजाति महासंघले सबैले संयुक्त रुपमा आवाज उठाउने काम गरिरहेको बताए । उनले संसार भर रहेका जनजातिहरुका हक अधिकार स्थापित गर्न अग्रसर रहने बताए । उनले सरकारले थिचोमिचोमा पारेका जातजातिहरुका आवाज उठाउने काम संस्थाले गरिरहेको भन्दै अहिले विवादमा रहेका विभिन्न विषयहरुमा सरकार चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।
महावाणिज्यदूत दिपक खड्काले निम्फाले अत्यन्तै राम्रो काम गरेको भन्दै नेपाललाई बहुसांस्कृतिक र बुहभाषिक देशको रुपमा अस्ट्रेलियामा समेत पहिचान दिने काम गरेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता भगवती पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएर पक्राउ गरिएपनि तत्कालै रिहाई गरिएको भन्दै उनीहरुले त्यसलाई गम्भीर रुपमा लिन सरकारलाई ध्यानाकर्षण गराउँदै अवैतानिक महावाणिज्यदूत दिपक खड्का मार्फत नेपाल सरकारलाई विज्ञप्ति पठाएका छन् ।
विभिन्न जनजाति महासंघका पदाधिकारीहरुले हस्ताक्षर पाण्डेले दिएको अभिव्यक्ति प्रति सरकारले गम्भीर रुपमा लिनुपर्ने र सत्य तथ्य निरुपण गर्ने भन्दै विज्ञप्ति दिएका हुन् । पूर्वदेखि पश्चिमसम्म रहेका विभिन्न जातजाति जस्तै मगर, गुरुङ तामाङ, शेर्पा, थारु लगायतका पोशाकहरुले सुसज्जित भएर फेशन शो समेत गरिएको थियो । विभिन्न खालका सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्यका अवैतानिक राजदूत दिपक खड्काका प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाली मूलका पहिलो काउन्सिलर एवम् क्यान्टरबरीबैंकस सिटी काउन्सिलका काउन्सिलर भद्र वाईवा, कलाकार बलबहादुर राजवंशी, पर्वतारोही एवम् प्रेरक वक्ता कुङ्गा शेपा, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालका सल्लाहकार कृष्ण कुमारी वाईबा, बंगलादेश प्रतिनिधि बप्रु मार्मा, निम्फाका पूर्व अध्यक्षहरु गणेश तामाङ, चित्राल तुम्बाहाङ्फे र अरुण कुमार तामाङ लगायतको पनि उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा थकाली सेवा समितिका अध्यक्ष दुर्गा गौचन, तामाङ सोसाईटी एफ एनएसडब्ल्यूका अध्यक्ष विशाल तामाङ,थारु सोशाइटी अफ सिड्नी अध्यक्ष दीप नारायण चौधरी, छन्त्याल परिवार अस्ट्रेलियाका बुद्धि छन्त्याल, गुठी अष्ट्रेलियाका उमेश नापित, तमु समाज सिड्नीका हिउपती गुरुङ, शेर्पा संघ एनएसडब्ल्यूका आङ लामा, किरातखम्बु राई समाज अस्ट्रेलियाका योगेन्द्र राई र रितेश राई, मगर समाज अष्ट्रेलियाका अनिल थापा मगर, याक्थुम चुम्लुङ अष्ट्रेलियाका शशि सुब्बा, राजवंशी समाजका धर्मेश राजवंशी लगायतको पनि उपस्थिति रहेको थियो ।







