काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंहबीच भेटवार्ता भएको छ ।
बुधबार अध्यक्ष ओली निवास बालकोटमा भएको हो । ११ अगष्टमा काठमाडौंमा भारतीय दूतावासले भारतको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको एक कार्यक्रमका लागि निम्ता दिन सिंह बालकोट पुग्नुभएको हो ।
भेटमा ओलीले नेपाल र भारतबीचको सम्वन्ध हार्दिकतापूर्ण रहेको भन्दै केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण समस्या भएको बताउनु भएको छ । ‘एक–दुई दर्जन व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले समस्या भएको छ’ उहाँले भन्नुभयो ।
छलफलमा ओलीले स्थानीय निर्वाचनका क्रममा कांग्रेस–माओवादीले गरेको असहयोग, असहयोगका बीच एमालेले प्राप्त गरेको पोजिसनलगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिला पूर्व राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरेका थिए । अहिले उहाँ आफैँ असक्षम बन्ने काम गर्दै हुनुहुन्छ’, ओलीले भन्नुभयो, ‘उहाँ असक्षमको बिल्ला लगाउन आतुर बन्नुभएको छ । उहाँका गतिविधिले त्यही पुष्टि गरेको छ ।’
उहाँले छलफलकै क्रममा प्रदेश तहको भन्दा केन्द्रीय निर्वाचन अहिलेको आवश्यकता भएको भन्दै सरकार केन्द्रीय निर्वाचन टार्ने खेलमा लागेको आरोप लगाउनुभयो ।
भेटमा सिंहले नेपाल–भारतबीच धार्मिक, साँस्कृतिक र पारस्पारिक सम्वन्ध रहेको भन्दै दुई देशबीचको निकटता अन्य देशसँगको भन्दा फरक रहेको बताउनुभयो ।
उहाँले भारत पहिलाको जस्तो नभएको भन्दै भारतले नेपालसँग द्वन्द्व होइन पारस्पारिक सम्वन्ध चाहेको बताउनुभयो ।






