लन्डन । पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् । हाल युएईमा रही सक्रिय पत्रकारिता गर्दै आईरहेका उनलाई दुतावासको विषय सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर पक्राउ गरिएको थियो ।
महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका छन् ।
बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरुका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो । ‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ’ वक्तव्यमा भनिएको छ,’जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौं ।’
नेपालमा रहंदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले गरेको उजुरीमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्धा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको उनीहरुको ठहर छ ।
वक्तव्यमा हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि अन्यायोचित ढंगले लगाइएको साइबर अपराधको मुद्धा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित नेपाली दूतावाससमक्ष माग गरिएको छ ।
त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्र र श्रमजिवी पत्रकारहरुका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ-संगठनहरुलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्धा फिर्ताको लागि सम्बन्धित निकायहरुसम्म आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सहयोग पुर्याउन अपिल गरिएको छ ।
वक्तव्यमा महासंघका बेलायत शाखा अध्यक्ष ध्रुवराज अर्याल, युरोप शाखा कावा अध्यक्ष केजिन राई, जापान शाखा अध्यक्ष मोहन घले, दक्षिण कोरिया शाखा अध्यक्ष रञ्जनराज कुँवर, कुवेत शाखा अध्यक्ष नवराज पन्थी, कतार शाखा अध्यक्ष करीम बक्स मियाँ, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा र भारत शाखाका महासचिव अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।
के–घटना भएको थियो ?
यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परी गत दुई सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ ।
उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । यूएईमा बसेर रोजगारीसँगै पत्रकारिता गर्दै आएका पाण्डेको सबै सामग्री जफत हुने, सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिने र सजाय भुक्तानपछि यूएई सरकारले देश निकाला (डिपोट) गर्ने फैसला सुनाएको छ ।
यूएईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । गत जनवरी ७ अर्थात् पुस २३ गते पाण्डेले नेपालमै हुँदा सामाजिक सञ्जालमा भिजिट भिसामा यूएईस्थित नेपाली दूतावास संलग्नता रहेको भन्ने आशयमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले स्थानीय निकायमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पक्राउ गरेको थियो । लगत्तै साइबर क्राइमको मुद्दा लगाई अबुधावीस्थित अनुसन्धानको लागि अल वाथ्बा जेलमा राखिएको थियो ।
अन्ततः सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठह¥याएर यूएई अदालतले यस्तो फैसला सुनाएको हो । पाण्डे केही वर्षदेखि स–परिवार यूएई बस्दै आएका छन् । उनको श्रीमती र एक छोरा छन् ।
यस्तो छ विज्ञप्ति






