काठमाडौँ । आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले युट्युबर विरुद्ध उजुरी दिएकी छिन् । नायिका थापाले आफूलाई गालीगलौज गरेको भन्दै एक युट्युबविरूद्ध प्रहरीमा निवेदन दिएकी हुन् ।
युट्युब मार्फत तथानाम गालीगलौज गरेको भन्दै नायिका थापाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएको ब्युरोका प्रवक्ता तथा एसएसपी नबिन्द अर्यालले बताए ।
अर्यालले रेखाका आफन्तले प्रहरीसामु उपस्थित भएर निवेदन दिएको र प्रारम्भिक अनुसन्धानकै क्रममा रहेको जानकारी दिए । उनका अनुसार युट्युबरले नायिका विरुद्ध गालिगलौज गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण गर्नुपर्ने धाराणा सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरेकी थिइन् ।
रेखाले धारणा सार्वजानिक गरेसँगै शाहका समर्थकहरुले युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू दिइरहेका बेला नायिका थापाको निवेदन आएको हो ।
यसअघि साइबर ब्यूरोले पीडितको गोपनीयतामा असर पुग्ने किसिमका अभिव्यक्ति दिने तथा आरोपितलाई थप आहत महसुस हुने गरी अनुसन्धान प्रक्रियामा समेत बाधा पुर्याउने गतिविधि गर्नेहरुलाई कानुन अनुसार कार्वाही हुने चेतावनी दिएको थियो ।






