सिड्नी । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको शुक्रबार निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए ।
वार्नको व्यवस्थापनको तर्फबाट सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख भए अनुसार थाइल्यान्डमा उनको निधन भएको उल्लेख छ। विज्ञप्तिमा वार्न हलचल गर्न नसक्ने अवस्थामा फेला परेको र चिकित्सक टोलीले प्रयास गर्दा पनि असफल भएको उल्लेख छ।
विज्ञप्तिमा परिवारले गोपनीयताको माग गरेकाले थप विवरण पछि सार्वजनिक गरिने उल्लेख छ। वार्नले १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १९९३ देखी २००५ को बीचमा १९४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ विकेट लिएका थिए ।
उनले २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । राष्ट्रिय टिमबाट २००७ मा सन्यास लिए पनि फ्रेन्चाइज क्रिकेट भने वार्नले २०१३ सम्म खेलेका थिए ।
पछिल्लो समय उनी कमेन्टेटर र क्रिकेट प्रशिक्षकको रूपमा काम गरिरहेका थिए । उनी फ्रेन्चाइज क्लबमा प्रशिक्षकको भूमिकामा थिए ।






