लन्डन। गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका वर्तमान महा-सचिव गौरीराज जोशीले २०२३ -२५ कार्यकालका लागि फेरी महासचिव पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।
संसारभरका गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै चौतर्फी दबाब बढाएपछि अन्तत: जोशी फेरि महासचिवमै उम्मेद्वारी दिने निचोडमा पुगेको उनको सचिवालयले जनाएको छ।
वर्तमान कार्यकालका महासचिव उनी त्यसो त आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई खोजिएपछि महासचिवमै निरन्तरता दिने निर्णयमा पुगेको जनाइएको छ।
सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्।
पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंगित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए।
उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्।
‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवश्यकता हो।’
एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ।
जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्।
एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्–जोशी। संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्छन्। संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ।
चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न छन्।
उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।
सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।
यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए।
आउने चुनावमा महासचिव पदका लागि चर्चामा अरू पनि छन् तर प्रवल आकांक्षीमा उभिएका छन् जोशी। विश्वका सबै एनसीसीमा उनको प्रभाव बलियो छ। उनी सबै टीमको रोजाइँमा परेका छन्। सम्भवतः उनी महासचिव पदका साझा उम्मेदवार बन्दैछन्।
महासचिव पदमै अमेरिकाबाट बुद्धीसागर सुवेदी र बेल्जियमका गंगाधर गौतमले इच्छा जनाएका छन्।






