काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दसैंअघि नै सक्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले खानेपानी तथा सरसफाइ मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीलाई यस्तो निर्देशन दिएको हो । बैठकमा खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।
उनले मेलम्ची खानेपानीको निर्माण कार्य दसैंभित्र सक्ने प्रतिबद्धता जनाए । त्यसक्रममा मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले सुरुङ निर्माणको काम अब ४ किलोमिटर मात्रै बाँकी रहेको बताए । पछिल्लो समयमा मेलम्चीको काम पुनः सुस्ताउन थालेको चर्चा चलेपछि समितिले सम्बद्ध पदाधिकारीहरूलाई बोलाई त्यसको प्रगति विवरण माग गरेको हो । पटकपटक सर्दै आएको मेलम्चीको म्यान पुनः थप्न नहुनेमा सबैको एकमत छ ।






