कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमानले पाए १९ मत

काठमाडौं– कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मत अन्तरले पराजित गर्दै पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका हु्न् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा देउवाको पक्षमा ४४ मत खसेको थियो भने प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको थियो । मतदानमा सबै ६३ सांसद सहभागि भए ।

चार पटक मुलुकको प्रधानमन्त्री भईसकेका देउवाको संसदीय दलमा स्पष्ट बहुमत थियो । यता पूर्व महामन्त्री सिंहले भने देउवा पार्टी र सरकार संचालन दुवैमा असफल भएको दावी गर्दै संसदीय दलको नेतामा आफू विजयी हुने दावी गर्दै अाएका थिए ।

देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका थिए ।

यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव थिइन् भने समर्थकमा सञ्जय गौतम रहेका थिए । नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।