काठमाडौं–इलमपोखरी– ६ लमजुङका मानसिङ गुरुङ दुई वर्षअघि साउदी गएका थिए । धन कमाएर परिवारलाई गरिबीबाट मुक्त गर्ने उनको सपना थियो । उनी धन कमाएर फर्कने आशामा परिवार थियो, तर गत २९ भदौमा उनको शव आयो ।
त्यस्तै, तमसरिया– ५ नवलपरासीका गिरिराज महतो पनि धन कमाएर पविारलाई सुख दिने सपनासहित मलेसिया गएका थिए, दुई वर्षअघि । तर, ३२ वर्षीय गिरिराजको पनि शव आयो । गिरिराजका काका काशीराम महतो भन्छन्, ‘कमाएर आउला भन्ने आशा थियो । ज्यानै गुमाउन पुग्यो ।’
रोजगारीका लागि विदेशी भूमिमा जानु नेपालीको बाध्यता नै बनेको छ । देशमा रोजगारीका अवसर नहुनु, उत्पादनमूलक कार्यमा जोडिन पुँजी नहुनु आदि कारणले नेपाली युवा बिदेसिन बाध्य छन् ।
हाल नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक एक हजार पाँच सय नेपाली बाहिरिने गर्छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०१४ मा चार खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
अहिले ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा छन् ।
विदेशी भूमिमा नेपाली कामदारले ज्यान गुमाइरहेका पनि छन् । पछिल्लो समय दुई दिनमा तीनजना जतिले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । बोर्डका निर्देशक शिवराम पोखरेल भन्छन्, ‘पछिल्लो आठ वर्षमा विदेशमा मारिनेहरूको संख्या हेर्दा महिनामा ५१ जनाले विदेशमा ज्यान गुमाएको देखिएको छ ।’
बोर्डका अनुसार आर्थिक वर्ष ०६५÷६६ देखि गत असार मसान्तसम्म सात वर्षको अवधिमा विभिन्न मुलुकमा चार हजार चार सय एक नेपाली कामदारले ज्यान गुमाएका छन् । मारिनेमध्ये चार हजार तीन सय १४ पुरुष र ८७ जना महिला छन् ।
विदेशमा मृत्युवरण गर्ने नेपालीको संख्या हरेक वर्ष अप्रत्याशित रूपमा बढेको बोर्डको तथ्यांक छ ।
बोर्ड स्थापनाको पहिलो वर्ष आर्थिक वर्ष ०६५÷६६ मा ९० नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका थिए भने गत आर्थिक वर्ष ०७१÷७२ मा एक हजार तीन नेपालीले विदेशी भूमिमा ज्यान गुमाए । ‘गत वर्षको मात्र तथ्यांक हेर्ने हो भने मासिक ८३ जना र दैनिक २.७४ जनाले विदेशमा ज्यान गुमाएका छन्,’ बोर्डका हकहित शाखाका नरेश धमेनाले भने, ‘पछिल्लोपटक विदेशमा मृत्यु हुने कामदारको संख्या बढ्दो छ ।’
किन ज्यान गुमाउँछन् ?
जोखिमपूर्ण काम, दुर्घटना, ट्राफिक दुर्घटना र हृदयघात, रक्तसञ्चार अवरोध तथा अत्यधिक गर्मीका कारण नेपालीले विदेशी भूमिमा ज्यान गुमाउने गरेका छन् । केहीले भने तनावका कारण आत्महत्या समेत गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार मुटुको समस्याका सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।
पछिल्लो सात वर्षमा मुटु र रक्तसञ्चार समस्याका कारण एक हजार दुई सय ५१ जनाको मृत्यु भएको छ । त्यसमध्ये कार्डिएक एरेस्टका कारण नौ सय ५० र हृदयघातका कारण तीन सयजनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, ज्यान गुमाउने कारणमा विभिन्न दुर्घटना पनि हुन् । यो सात वर्षमा नौ सय ४८ नेपालीले विभिन्न दुर्घटनाबाट ज्यान गुमाएका छन् । त्यसमध्ये सवारी दुर्घटनामा पाँच सय ७१ र कार्यक्षेत्र दुर्घटनामा तीन सय ७७ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।
त्यस्तै, आठ सय ५६ जनाको प्राकृतिक मृत्यु भएको बोर्डले जनाएको छ । निर्देशक पोखरेलका अनुसार कुनै समस्या नदेखिई सुतेको वा बसेकै समयमा मृत्यु हुनुलाई प्राकृतिक मृत्यु भनिएको छ । प्राकृतिक मृत्यु भनिए पनि उनीहरूमध्ये धेरैको मृत्यु त्यहाँको प्रतिकूल मौसमका कारण भएको सरोकारवाला बताउँछन् । ‘खासगरी खाडी मुलुकमा गर्मीमा दिनभरि काम गर्ने र र साँझ एसी चलाएर सुत्दा रक्तसञ्चार अवरुद्ध भएर धेरैको ज्यान गएको छ,’ १० वर्ष दुबई र साउदी अरब बसेर फर्केका गुल्मीका तीर्थराज भण्डारीले भने, ‘मलेसियामा सवारी दुर्घटना र कार्य क्षेत्रमा दुर्घटनाले गर्दा हुने मृत्यु बढी छ ।’
पछिल्लो सात वर्षमा आत्महत्या गर्ने नेपालीको लहर पनि धेरै छ । चार सय ३२ नेपालीले विदेशी भूमिमा आत्महत्या गरेका छन् । ४७ नेपालीलाई विदेशमै हत्या गरिएको छ भने सात सय ८० जनाको मृत्युको कारण खुल्न सकेको छैन ।
मलेसिया पहिलो, साउदी दोस्रो र तेस्रोमा कतार
मलेसियामा सबैभन्दा बढी नेपाली कामदारको मृत्यु भएको तथ्यांक छ ।
मलेसियामा यो सात वर्षमा एक हजार पाँच सय ५२ नेपाली कामदारले ज्यान गुमाएका छन् । कार्यक्षेत्र दुर्घटनामा एक सय ४२, सडक र्दुटनामा ८६ कामदारले ज्यान गुमाएका छन् । त्यसैगरी, कार्डिएक एरेस्ट का कारण दुई सय ९५, हृदयघातले एक सय ३९, आत्महत्याका कारण एक सय ९४ र हत्याका कारण १९ जनाले ज्यान गुमाएका । त्यस्तै पाँच सय ४३ जनाको मृत्युको कारण खुलाइएको छैन भने एक सय ७४ जनाको प्राकृतिक मृत्यु भएको छ । मुटुको समस्या कठिन काम, तनाव र प्रतिकूल मौसमका कारण मलेसियामा नेपालीको मृत्यु हुने गरेको बोर्डका उद्धार व्यवस्थापक समित्र सिंहले बताए । यहाँबाट एउटा काम भनेर लग्ने अर्कै काममा लग्ने अनि तनाव र कामको चापका कारण पनि धेरैले अर्काको देशमा मृत्युवरण गर्नुपरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
नेपाली कामदारको मृत्यु हुनेमध्ये दोस्रो मुलुक हो, साउदी अरब । यो सात वर्षमा एक हजार एक सय ८० नेपालीले साउदीअरबमा ज्यान गुमाएका छन् । चार सय ६५ ले विभिन्न दुर्घटनामा ज्यान गुमाएका छन् । ९५ जनाले आत्महत्या गरेका छन् भने एकको हत्या भएको बताइएको छ ।
त्यस्तै, नेपाली कामदारको मृत्यु हुने तेस्रो मुलुक हो, कतार छ । पछिल्लो सात वर्षमा कतारमा नौ सय ४६ नेपालीले ज्यान गुमाएका छन् । कतारमा कार्डिएक एरेस्टका कारण चार सय ६२, हृदयघातले ४७, हत्या २२, प्राकृतिक मृत्युमा ६९, कार्यक्षेत्र दुर्घटनाले ८६, सडक दुर्घटना ५१, आत्महत्या ७० र अन्य कारणले एक सय ३९ नेपालीले ज्यान गुमाएका छन् ।
त्यस्तै, नेपाली कामदारको मृत्यु हुने चौथो देश हो, युएई । पछिल्लो सात वर्षमा युएईमा तीन सय ३४ नेपालीले ज्यान गुमाएका छन् । त्यसैगरी, कुवेतमा एक सय ३३, बहराईनमा ६२, दक्षिण कोरियामा ५८, ओमनमा ४०, लेबनानमा २०, अफगानिस्तान सात, इजरायल सात र जापानमा सात, रसियामा तीन, श्रीलंकामा दुई नेपालीले ज्यान गुमाएका छन् । क्यानडा, जर्मनी, इटली, लिबिया, माल्दिभ्स, मौरिसस, पपुवान्युगिनी, पोल्यान्ड, अमेरिका र युगान्डामा एक–एक नेपालीले कामदारले ज्यान गुमाएका छन् ।
यो वैदेशिक रोजगार विभागमा दर्ता गरेर रकम लिनेहरूको मात्र संख्या हो । सरकारी निकायमा तथ्यांक नपुग्नेहरूको संख्या त झन् बढी रहेको सरोकाराला बताउँछन् । देशलाई झन्डै वार्षिक पाँच खर्ब रेमिट्यान्स भित्रिने भए पनि सरकारले नेपाली कामदारको सुरक्षाका लागि केही पहल नगरेको उनीहरूको भनाइ छ ।
क्षतिपूर्तिमा ६१ करोड
वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाउनेका लागि क्षतिपूर्तिबापत सरकारले यो सात वर्षमा ६१ करोड १२ लाख ७४ हजार रुपैयाँ उपलब्ध गराएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
आर्थिक वर्ष ०६५÷६६ देखि राहत रकम उपलब्ध गराउँदै आएको सरकारले पहिलो वर्ष ८९ लाख आठ हजार रुपैयाँ मृतक परिवारलाई दिएको थियो ।
गत वर्षको भदौ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिभित्र मृत्यु भएमा डेढ लाख क्षतिपूर्ति दिने नियम छ । तर, असोजदेखि तीन लाख दिने निर्णय भएकाले सोहीअनुसार क्षतिपूर्ति उपलब्ध गराइएको छ । करार अवधिभित्र मृत्यु भए पनि आफ्नै बाबुआमा, छोराछोरी वा श्रीमान–श्रीमतीबाट हकदाबी गर्ने कोही नभएमा दाजुभाइलाई ५० हजार दिने नियम छ । करार अवधि सकिएकालाई भने बाटोखर्च बापतको १० हजार रुपैयाँ मात्र उपलब्ध गराइएको छ । वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाहरूको क्षतिपूर्तिका लागि सम्पूर्ण कागजात तयार गरी आएमा बोर्डमा पेस भएको एक घन्टाभित्रै चेक हातमा थपाएर पठाइने बोर्डले जनाएको छ ।
नौ शव ल्याउन बाँकी
विदेशमा ज्यान गुमाउनेमध्ये नौजनाको शव नेपाल ल्याउन बाँकी छ । गत आर्थिक वर्षमा मृत्यु भएका पाँचजनाको शव ल्याउने प्रक्रियामै रहेको बोर्डले जनाएको छ । साउदी अरबबाट चार, मलेसियाबाट तीन, कतारबाट एक र युएईबाट एकजनाको शव ल्याउन बाँकी रहेको बोर्डले जनाएको छ ।
खाडी मुलुकहरूमा पोस्टमार्टम र नेपाल पठाउने प्रक्रिया नै ढिला भएकाले शव ल्याउन ढिला भएको बोर्डका निर्देशक पोखरेलले बताए । ‘साउदी अरबमा कम्तीमा दुई महिना त प्रक्रियाका लागि मात्रै लाग्दोरहेछ,’ उनले भने, ‘दूतावासमार्फत हामीले सोधखोज गर्दा दुई महिनासम्म त प्रोसेस इज अनगोइङ भन्छ ।’
आफू गएको देशको वातावरण, हावापानीबारे जानकार नहुँदा पनि धेरैले ज्यान गुमाउने गरेकोसरकारी अधिकारी बताउँछन् ।
धेरै कामदारको काम गर्न जाने मुलुकको ट्राफिक नियम नजान्दा दुर्घटना हुने, जोखिमपूर्ण काम गर्दा दुर्घटनामा पर्ने र वातावरणबारे ज्ञान नहुँदा प्रतिकूलताले ज्यान जाने गरेको पाइएको छ ।
सरकारले कडाई गरिरहे पनि म्यानपावर व्यवसायी र तालिम सञ्चालकले पैसाको भरमा तालिम नै नदिई प्रमाणपत्र बनाउने गरेका कारण पनि धेरै नेपाली कामदारले ज्यान गुमाउनुपरेको बोर्डका कर्मचारी बताउँछन् ।






