बेलायती गृहमन्त्री र नेपाली चेली चन्द्रकला सखी बीच भेट बार्ता,-को हुन् नेपाली चेली सखी ?

लन्डन । नेपालकी श्रीराम चरित्रमानस र भक्तमालाको बहुभाषिक कथा वाचिक चन्द्रकला सखीलाई बेलायतको संसदमा गृहमन्त्री स्वेला ब्रेभरमेनले स्वागत गरेकी छन् । उक्त कार्यक्रमको क्रममा भएको दुइपक्षीय भेटघाटको क्रममा चन्द्रकला सखीले विशेषरूपमा बेलायत स्थित नेपालीहरुका हितका विषयमा, विश्व शान्ति एवम् मानव कल्याणलगायत वैदिक सनातन धर्म एवम् हिमालयन सिद्ध महायोग ध्यान साधनाद्वारा कसरी आत्म विश्वास जगाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएकी थिइन् । सोही अवसरमा उनले कसरी व्यक्तिले भगवान नामको अजपा जप हुन्छ साथै वर्तमान समय तथा निकट भविष्यमा विश्व मानव समुदायको कल्याणार्थ महायोग साधनाको आवश्यकता तथा महत्वको विषयमा उनले विशेष सत्संग गरेकी थिइन् ।
के हो हिमालयन सिद्ध महायोग ? यो कसरी तथा कोबाट प्राप्त गर्न सकिन्छ ?
आचार्य अनन्तश्री विभूषित जगद्गुरू महायोगी सिद्धबाबाले दृष्टी , स्पर्श , संकल्प द्वारा गर्ने महायोग शक्तिपातलगायतका विषयमा चन्द्रकला सखीले गृहमन्त्री स्वेला ब्रेभरमेनसँग विशेष चर्चा गरेकी थिइन् । उक्त चर्चाका क्रममा सखीले गृहमन्त्रीलाई नेपालमा भ्रमणका लागि निमन्त्रण गरेकी थिइन् र गृहमन्त्रीले पनि नेपाल भ्रमणमा आउने प्रतिबद्धता जाहेर गरिन् । उक्त चर्चाको क्रममा गृहमन्त्रीका साथमा उनकी माता उमा फर्नान्डेज पनि उपस्थित रहेकी थिइन । उमा फर्नान्डेज पूर्व मेट्रोन एवम् पूर्व काउन्सिलर पनि हुन् । साथै उनी ती महिला हुन जसलाई बेलायतकी महारानी एलीजाबेथले ब्रिटिस एम्पाएर मेडलबाट सम्मान गरेकी थिइन् । उक्त वार्तालापको क्रममा चन्द्रकला सखीको आगमनले आफू अत्यन्त खुसी एवम् भाव विभोर भएको पनि उमा फर्नान्डेजले बताएकी थिइन् ।
को हुन् नेपाली चेली चन्द्रकला सखी ?
अनन्तश्री विभूषित जगद्गुरू महायोगी सिद्धबाबाकी कृपापात्र नेपालकी पहिलो ’श्रीरामचरित्रमानस’ र ‘भक्तमाल’ को बहुभाषी कथा वाचिका हुन् सुश्री चन्द्रकला सखी । हाल उनले पश्चिमका मुलुकहरूमा वैदिक सनातन धर्मको प्रचारमा तीव्रता दिइरहेकी छिन् । हराउँदै गएको संस्कार, संस्कृतिको जागरण, शारीरिक, मानसिक स्वास्थ्य तथा आध्यात्मिक विकासका साथमा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यसहित उनको अभियान तिव्रताका साथ अगाडि बढिरहेको छ ।