बेलायतमा नेपाली ओपन कन्सर्ट भब्य रुपमा सम्पन्न,ज्योति मगर र प्रमोद खरेलको धमाकेदार प्रस्तुती अरु के के भयो

शिव भण्डारी 

लन्डन । बेलायतको नेपाली समुदायमा चर्चित नेपाली ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ यूकेको आयोजनामा मे १३ शनिबार फार्नबोरोस्थित फोर्नबोरो स्टडियममा सम्पन्न भएको हो ।

मगर संघ युके अध्यक्ष सिता पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यको प्रमुख आतिथ्यमा रहेको थियो।कार्यक्रममा स्थानीय रस्मोर बरो काउन्सिल मेयर तथा गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह मगर विशेष अतिथि रहेका थिए ।

सो अवसरमा नेपाली राजदूत आचार्यले कन्सर्टले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मगर संघ यूके अध्यक्ष सिता पुन मगरले मगर संघ यूकेले गर्दै आएको कार्यक्रमहरुको बारेमा जानकारी दिँदै सबैलाई स्वागतका साथ उपस्थितिको लागि धन्यवाद दिए ।

नेपाली कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००७ देखि आयोजना गर्दै आएको कन्सर्टको पहिलो चरणमा मगर संघ युकेका महासचिव गुमानसिंह थापाले संचालन गरेका थिए ।

कन्सर्टमा नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाएपछी नेपाली ओपन कन्सर्टको औपचारिक कार्यक्रम शुभारम्भ गरिएको थियो।

नेपाली ओपन कन्सर्टको दोस्रो चरणमा मगर संघ युकेका सांस्कृतिक सचिब सरु गुरुङ (तान्याङ्ग) को नेतृत्वमा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत लगायत नेपालबाट आएका कलाकारहरु छेवाङ्ग लामा, ज्योति मगर र प्रमोद खरेलले आ-आफ्नो सांगीतिक धमाका प्रस्तुत गरेका थिए।

सांस्कृतिक कार्यक्रम बिएफबिएस गोर्खा रेडियोका संचालिका रुप राना, पवन राना, दिपक थापा माइठाने र सृजना लिम्बुले संचालन गरेका थिए।नेपाली ओपन कन्सर्टमा संस्थाको बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए
नेपाली ओपन कन्सर्टमा नेपाल आदिवासी नेपाली महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पालगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिघिहरुको उपस्थिति रहेको थियो। संस्थाका संथापक अध्यक्ष, निबर्तमान अध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, साखाका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, युथ कमिटिका अध्यक्षलगायत बिभिन्न उपसमितिका सदस्यहरुलगायत मगर संघ युकेसंग आबद्ध संस्थाहरुको उपस्थिति रहेको थियो।

मगर संघ युकेद्वारा आयोजित नेपाली ओपन कन्सर्टमा नेपाली कलाकार तथा स्थानीय कलाकारहरुले सांगीतिक धमाका मच्चाएका छन। बेलायतको फार्नबोरोस्थित फुटबल कलबमा नेपालबाट आमन्त्रित कलाकारहरु प्रमोद खरेल, ज्योति मगर, छेवाङ्ग लामाले उक्त धमाका मच्चाएका हुन्।