काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ ।
नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो । यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो । दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए ।
आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले सात बुँदे समझदारी गरेको छ । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु हुन् ।
एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।, पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।, ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरिने पनि सहमती भएको छ ।






