लण्डन ।समाजसेवा गर्ने चाहना सबैको हुन्छ । तर जो कोही भने सफल हुन सक्दैनन्। जसले निस्वार्थ भावले समाजको सेवा गर्छ त्यही व्यक्तिले सफलता पाएको हुन्छ। समाजसेवा गर्ने व्यक्तिमा व्यक्तिगत स्वार्थभन्दा पनि सकारात्मक सामाजिक सोच हुनु आवश्यक छ।
यस्तै बेलायतको नेपाली समाजमा पछिल्लो समयमा सामाजिक अगुवाका रुपमा स्थापित नेपाली नाम हो दिलिप मोहरा । उमेरले ६५ बर्ष टेक्दै गर्दा समाजसेवा गर्ने जोश र जाँगरले उनलाई छोड्न सकेको छैन ।

बेलायती सेना देखि, सेक्युरिटी फोर्स हुँदै लेखनकलामा समेत प्रखर मानिने मोहोराले हाल यूकेको नेपाली समुदायमा भाषागत समस्या हुने नेपालीहरुलाई साथ दिदै आइरहेका छन् भने स्वास्थ्य सचेतना फैलाउँदै नेपालीहरूको स्वस्थ जीवन यापनको निम्ती सचेतना अभियान चलाउँदै आएका छन्। विभिन्न देशको अनुभव बटुलेका उनले २ दर्जन भन्दा धेरै प्रमाणपत्र र सम्मान पत्र हरू पाएका छन् ।
नेपालको प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको ज्यामिरे गाँउमा सन् १९५६ नोभेम्बरमा जन्मिएका मोहोराले ज्यामिरेमा प्राथमिक शिक्षा अध्ययन गरेपश्चात, उच्च शिक्षा हासिल गर्नको निम्ती धरान आए । धरान डिपोर्ट हाईस्कूल बाट १९७४ मा एसएलसी परीक्षा पास गरेपछि ब्रिटिश आर्मी (ब्रिग्रेड अफ गोर्खाज – जिटिआर) मा भर्ती भए।

आर्मी सेवा – ब्रिगेड अफ गोर्खाज
सन् १९७४, नोभेम्बर मा ब्रिटिश आर्मीमा सिपाहीको रुपमा भर्ती भएपछि १९ बर्षसम्म उनले सेवा गरे । सेवाको क्रममा हङकङ, संयुक्त अधिराज्य र नेपालमा सेवा गर्ने अवसर प्राप्त गरे। १९८९ देखि १९९३ को उनको सेवाको उत्तरार्धमा ३१ स्क्वाड्रन जिटिआर त्यासपछि ब्रिटिश सैनिक आकासबाणी हङगकङगमा चिफ क्लर्कको रुपमा भूमिका निभाउँदै १९ बर्षको सेवा पुरा गरी १९९४ मा सेवा–निबृत भएका थिए ।
गोर्खा रिजर्भ यूनिट ब्रुनाई दारूसलाम
गोर्खा ब्रिगेडबाट सेवा–निवृत भएसँगै गोर्खा रिजर्भ यूनिट ब्रुनाइका राजा सुल्तान अन्तर्गतको सुरक्षा फौजमा १९९४ मा आवद्ध भएका उनी ११ बर्ष ६ महिनासम्म लजिस्टिकस एन्ड बजेट क्लर्कको रुपमा सेवा गरे र २००६ मा भोलुन्टरी रिटायर्मेन्ट लिए।
उक्त सेवाको क्रममा उनले मलेसियाको न्यूल्याण्ड इन्टरनेशनल कलेजबाट दूर शिक्षा अन्तर्गत व्यवसाय ब्यबस्थापन तथा प्रशासन विषयमा डिल्पोमा गरे। सोही समय उनले ब्रुनेइको राष्ट्रिय पत्रिका “बोर्नियो बुलेटिनमा” थुप्रै लेख रचना समेत लेखेका छन् ।
२००६ मा बेलायत आएका उनी कल्चेस्टरमा बस्न थाले । यहाँ आएसँगै सामुदायिक स्वास्थ्य च्याम्पियन कोर्सको ३ महिने तालिम लिएसँगै उनले कोल्चेस्टारमा स्थापना भएको नेपाली समुदायमार्फत सामुदायिक स्वास्थ्य च्याम्पियनको रुपमा समाजसेवा शुरू गरे ।
लण्डन नेपाल न्यूज सँगको कुराकानीको क्रममा उनले बेलायतस्थित राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमा नेपालीहरुको पहुँच पुर्याउनको निम्ती आवश्यक पर्ने विभिन्न सेवासुविधा र परामर्श दिने काममा महत्वपूर्ण काम गरेको बताए। नेपालीहरुलाई मुटुको रोग, स्ट्रोक, क्यान्सर, मोटोपन लगायतका विभिन्न स्वास्थ्य समस्याहरुका विषयमा स्पष्ट जानकारी दिन र ती रोगहरुको शिकार हुनबाट बच्न उनले नेपाली समुदायलाई सहयोग गरेका छन् । मानसिक स्वास्थ्य कसरी राम्रो बनाउने, बालबालिकाहरुमा मोटोपनाको समस्या समाधान गर्ने, सामुदायिक स्वास्थ्य सुदृढिकरणमा उनको भूमिका निकै प्रशंसनीय रहेको छ। यसै शिलशिलामा उनले स्वास्थ्यसम्बन्धी दोस्रो लेबलको अवार्ड कोर्समा समेत भाग लिने मौका पाइ ब्रिटिश रोयल सोसाइटी मार्फत प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
होम अफिसको नेपाली इन्टरप्रेटर
२०१२ सालको सुरूवातमै उनि ब्रिटेन को गृहमन्त्रालय बाट नेपाली फ्रिलेन्सर इन्टरप्रेटरको प्यानलमा छनौट भए। सोही समयमा उनले द विगवर्ड ट्रान्सलेसन एन्ड इन्टरप्रटिङ्ग सर्भिस अनि एसेक्स इन्टरप्रटिङ्ग लिमिटेड मा दर्ता गरी दोभासे को काम व्यवसायिक रुपमा शुरु गरे । पूर्णकालिन दोभासे को काम गर्न थालेका उनले सामुदायिक इन्टरप्रेटिङ्गमा १२ हप्ते कोर्स पुरागरी एसेन्टिस युके बाट २०१७ मा लेवल ३ को प्रमाणपत्र प्राप्त गरे ।
यस लगत्तै ब्रिटेन को न्याय मन्त्रालय अन्तर्गत इमिग्रेसन ट्राइबुनल र मजिस्ट्रेटको अदालतहरूको सुन्वाइमा दोभासे को काम गर्न सुरू गरे। उनि भन्छन ब्रिटिस सैनिक् बाट सेवा निवृत नेपालीका वयस्क छोराछोरीलाइ पनि गृह मन्त्रालयले युके आउने सुबिधा दिएको तर प्रकृयाहरू नपुगेर अस्वीकार भएका धेरै निबेदनहरू इमिग्रेसन ट्राइब्युनल मा आउने हुदा मुद्दाहरू दिन प्रति दिन बढिरहेका छन अनि दोभासेको खाचाो पनि तेत्तिकै बढिरहेको छ।एनएचएसमा पनि दोभासेको काम गरेका उनले पेन्सन विभाग, प्रहरी लगायत ब्रिटेनका विभिन्न विभागहरुमा नेपालीहरुलाई भाषागत सहयोग गर्दै आएका छन् ।
समाजसेवाको यात्रा
नेपाली संघस्थाहरुमा मोहोराले लगातार तेस्रो पटक अध्यक्षको रुपमा समाजसेवा गरिरहेका छन् । संगम नेपाली समाज युके, सयपत्री नेपाली सेवा समाज यूके, सयपत्री परियार समाज यूकेमा अध्यक्षको रुपमा काम गर्दा उनले नेपाली समुदायको कल्याणको निम्ति विभिन्न काम गरेका छन्। नेपालमा भइपरी आएका विपत्तीहरु जस्तै २०७२ सालको महाभूकम्प, कोभिड १९ को महाम्मारी लगायतमा उनी र उनको संस्थाले सहयोगात्मक अभियान सञ्चालन गरेका थिए । सयपत्री नेपाली सेवा समाज मार्फत मोरङ जिल्लाका कोभिड पीडित ४२ घर धुरी, रुकुममा भएको दलित हत्याकाण्डका पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए ।
त्यस्तै सयपत्री परियार समाज युके मा मार्च २०२१ देखि अध्यक्षको रुपमा समाजसेवा गर्दै आएका उनले विभिन्न समस्यमा परेका नेपालीहरुलाई सहयोग गर्ने अभियान चलाइरहेका छन् । त्यस्तै उनले एनआरएनए यूकेमा २०१७ देखि २०१९ सम्म, कोल्चेस्टार नेप्लिज सोसाइटी र सिर्जनशील नेपाली समाज यूकेमा पनि सल्लाहकारको रुपमा भूमिका निभाइ राखेका छन्। फिटनेश, आर्टिकल र कविता लेखनमा रुची भएका उनी विभिन्न पत्र–पत्रिका हरुमा लेख रचना हरू लेख्दै आएका छन् ।
‘जीवनमा धेरै कुराको अनुभव बटुल्ने मौका पाइयो, उनी भन्छन्, ‘समाजसेवा गर्ने जिज्ञासाले कहिल्यै छोडेन। उनले बेलायतमा बिसेस अङग्रेजी भाषाको समस्या भएका नेपाली अभिभावक हरुको इन्टरप्रेटर को रूपमा सहयोग गर्न पाउँदा अति प्रसन्न मिल्ने बताए।
सम्पर्कका लागि : इमेल dkmohora@yahoo.com मोवाइल नम्वर :07733606965






