तक्दीर अधिकारी
सिड्नी । सिड्नी स्थित फेवा एफसी फूटबल क्लबले एकदिवसीस फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । तेस्रो ग्रेस इन्टरनेशनल तालाबाराही कप नाम दिइएको उक्त प्रतियोगिता अगष्ट ८ आइतवारका दिन अवर्नको बेब्स एभिन्यूमा आयोजना गर्न लागिएको हो ।
फेवा एफसीका अध्यक्ष विश्वास गुरुङका अनुसार तेस्रो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा खुला तर्फ २४ समूह तथा ३५ बर्ष माथिका भेट्रान खेलाडीहरुका ८ समूह गरी ३३ समूहले भाग लिने भएका छन् । ती सबै समूह नेपालीहरु रहेको र महामारीको कठीन अवस्थाकावीच नेपालीहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्धेश्यसहित खेल आयोजना गरिएको उनले बताए ।
लण्डन नेपाल न्यूज सँग गुरुङले भने, ‘महामारीको कारण अष्ट्रेलियामा खेलकूद गतिविधि पहिलाको जस्तो हुन पाएका छैनन, यस जटिल अवस्थामा रिफ्रेसमेन्टको तथा आपसी भाइचाराको सम्बन्ध बलियो बनाउने उद्धेश्यसहित खेल आयोजना गरिएको हो ।’ विदेशको ठाँउमा आएपनि नेपालीवीच सामिप्यता जगाउने भन्दै उनले महामारीकै अवस्थामा आयोजित खेलले विशेष महत्व राख्ने बताए ।
आयोजकका अनुसार खुलातर्फको प्रतियोगितामा प्रथम हुने समूहले ३ हजार अष्ट्रेलियन डलरसहितको पुरस्कार पाउने छन् भने उपविजेताले १२ सय डलर पाउनेछन् । प्लेयर अफ द टुर्नामेन्ट हुने खेलाडीले २ सय डलर, सबैभन्दा बढी स्कोर ल्याउनेले १ सय डल, बेस्ट गोलकिपरले १ सय डलर, म्यान अफ द फाइनल हुनेले पनि १ सय डलर पाउनेछन् । अध्यक्ष गुरुङका अनुसार अनुशासित समूहलाई उत्कृष्ट प्रस्तुती ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिने भएको छ ।
त्यस्तै ३५ बर्षभन्दा माथिका भेट्रान खेलाडीहरु तर्फ प्रथम हुने टिमलाई १ हजार डलर, द्धितिय हुनेलाई ४ सय डलर साथै बेस्ट प्लेयर, बेस्ट गोलकिपर, सबैभन्दा धेरै स्कोर ल्याउनेहरुलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिने भएको छ ।
ग्रेस इन्टरनेशनल टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगितामा रे प्रपर्टिज एसोसियट स्पोन्सरको रुपमा रहेको छ ।
त्यस्तै प्लाटिनम स्पोन्सरहरुमा एक्टिभ मोर्टगेज एन्ड फाइनान्स, डिलाइेड ट्राभल्स, एभरेष्ट कम्युनिकेसन तथा गोल्ड स्पोन्सरमा सोल मिल, सिल्भर स्पोन्सरहरुमा बुद्धा एसियन ग्रोसरीज, फरस्ट लेसन ड्राइभिङ्ग स्कूल रहेका छन् ।
प्रतियोगिता सञ्चालन गर्नको निम्ती पोखरा समाज अष्ट्रेलिया, एलजी एसोशियसन अष्ट्रेलिया, ग्रेस क्रिकेट क्लब, मिडिया पार्टनरको रुपमा लण्डन नेपाल न्यूज, नेप्लिज अष्ट्रेलियन र नेपाली टचले साथ दिने भएका छन् ।
सबै खेलहरु एन्फा अष्ट्रेलिया अन्तर्गत सञ्चालन गरिने तथा कोभिड १९ महामारीविरुद्ध सरकारले लगाएका सबै मापदण्डहरु पूरा गरेर खेल सञ्चालन गरिने आयोजकको भनाई रहेको छ । उक्त खेल फ्यूजन स्पोर्ट्स र गोलनेपालमार्फत प्रत्यक्ष प्रशारण गरिने भएको छ ।






