काठमाडौं– निर्वाचन आयोगले असार १४ गते दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये २३७ स्थानीय तहको मतगणना सम्पन्न भएको जनाएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ । त्यस्तै आयोगले ६ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले दिएको जानकारी अनुसार हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् ।
यसैगरी, प्रदेश नम्बर ५ मा गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नम्बर ७ मा डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको छ ।






