व्यवसायिक जीवनसँगै फोटोग्राफीलाई अघि बढाएका अरुण, अष्ट्रेलियामा ‘सेलिब्रेटी’ बन्दै

तक्दीर अधिकारी
सिड्नी । भनिन्छ मानिसलाई आफ्नो कर्म गर्न केही कुराले छेक्दैन । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भन्ने नेपाली उखान त सबैसामू प्रचलित नै छ ।

यसैको उदाहरण बनेका छन् अष्ट्रेलियामा रहेका नेपाली फोटोग्राफर अरूण आर्यन चौधरी । अध्ययनको कुरा गर्ने हो भने अहिले उनले अहिले डिजाइन, इन्भेन्ट, निर्माण लगायतका काममा मात्रै ध्यान दिएका हुन्थे । तर उनको मनभित्रको ‘पेसन’ले उनलाई इन्जिनियर मात्र होइन व्यवसायिक फोटोग्राफर समेत बनाइदियो ।

सप्तरी माध्यमिक बिद्यालयबाट औपचारिक अध्ययन सुरु गरेका आर्यनले पोखराको पश्चिमाञ्चल इन्जिनीयरिङ्ग कलेजबाट डिप्लोमा र कान्तिपुर इन्जिनियरीङ्ग कलेजबाट ब्याचलर गरेका थिए ।
सिभिल इन्जिनियरका रुपमा आफ्नो पेशागत दक्षता हासिल गरेका उनी अष्ट्रेलिया आईपुगे । उनी व्यवसायिक रुपमा इन्जिनियर नै भएपनि २०१२ देखि आफ्नो भित्री इचछाले डोहोर्याए वमोजिम क्यामेरालाई पनि साथी बनाउने निधो गरे । अनि शुरू भयो फोटो ग्राफरको रुपमा अर्काे यात्रा ।

‘मनको इच्छालाई जसो गरी भएपनि पूरा गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनी भन्छन्, ‘सोही अनुरुप मेरो सानै देखिको ‘पेशन’को रुपमा रहेको फोटोग्राफीलाई पनि सँगै लिएर हिडे ।’

अहिले उनीसँग अष्ट्रेलियाका धेरै ठाँउका सेलिव्रेटी कार्यक्रमका तस्वीरहरु कैद भएका छन् । इन्जिनियरको रुपमा जस्तै फोटो ग्राफरको उपमा पाउँदा र अरु व्यक्तिका विभिन्न पोजका तस्वीरहरु खिच्न पाउँदा उनलाई गर्वको महसुस हुन्छ ।

नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल प्रमुख अतिथि रहेको सिड्नीमा आयोजित एक इभेन्टमा उनले गरेको फोटोग्राफीले उत्साहब्रर्दक सम्मान पायो । यसरी सुरु भएको उनको फोटोग्राफी यात्रालाई त्यसपछिका समय ख्यातिप्राप्त कला तथा संगीतकर्मीको तस्विर कैदको श्रृंखलाले प्रसिद्धी थप्दै गयो । अहिले उनी अष्ट्रेलियाको नेपाली समुदायकै एक हिस्सा बन्न सफल भएका छन् ।

आर्यन यतिबेला ‘नेपाली टच’को अफिसियल फोटोग्राफरका रुपमा समेत कार्य गरिरहेका छन् ।

यो अवधीमा उनले अष्ट्रेलियामा आयोजीत नेपथ्य, १९७४ एडी, कुटुम्ब, द एक्स ब्याण्ड, नेपाल आईडल, मन्त्र ब्याण्ड, मुक्ती एण्ड रिभाईभल लगायतका चर्चित नेपाली ब्याण्ड तथा, संचारकर्मी तथा निर्देशक भूषण दाहाल, रवि लामिछाने, सुशिल नेपाल, गायक गायक राजेश पायल राई, कर्ण दास, सुगम पोखरेल, अन्जु पन्त, राज के गोस्वामी, नविन के भट्टराई, प्रिती आले, र्यापर लाहुरे कमल खत्री, समिर आचार्य कलाकार संदिप क्षेत्री लगायतका दर्जनौं कलाकर्मीहरु सामेल इभेन्टहरुका सयौँ तस्वीरहरु कैद गरेका छन् ।

थारु सोसाईटि सिड्नी अस्ट्रेलियामा पब्लिक रिलेसन अफिसर समेत रहेका उनी आफ्नो व्यवसायिक जीवन Arun Phography मा व्यस्त छन् ।


आर्यन हाल सिड्नीमा श्रीमती र छोराको साथ रहँदै आएका छन् । उनले विदाको दिनलाई फोटो खिच्न बढी उपयोग गर्ने गरेको बताए ।

‘व्यवसायिक जीवन जेजस्तो भएपनि आफ्नो इच्छालाई बाहिर आउन दिनुपर्ने उनको धारणा छ । परिस्थिती सधै एकै हुँदैन, त्यसकारण कुनै दिन आफ्नो भित्री इच्छाको काम गर्ने मौका आउँछ, त्यही दिनलाई समात्यो भने व्यवसाय र ‘पेशन’ दुवैले सफलता पाउँछन्,’ उनले भने ।