सिड्नी । कोभिड महामारी नियन्त्रण गर्न राज्य सरकारले सिड्नीमा लगाएको लकडाउन १०६ दिनपछि खुला गरिएसँगै यहाँको जनजीवन सामान्य बन्न थालेको छ ।
सरकारले ९० प्रतिशतभन्दा बढी मानिसहरुले खोपको पहिलो डोज र ८० प्रतिशतभन्दा बढी मानिसले पूर्ण मात्रा खोप लगाएको भन्दै निषेधाज्ञा खुला गर्ने निर्णय गरेसँगै व्यवसाय, सलोन, रेष्टुरेन्टहरु, जिमहल लगायत खुल्न थालेसँगै जीवन सामान्य हुँदै गएको हो । सरकारले केही मापदण्डहरु तोकेको छ । इन्डोरमा मास्क लगाउन भनिएको छ ।
पछिल्लो समय यहाँ कोरोना संक्रमितहरु पनि घट्दै गएका छन् । राज्यमा वितेको २४ घण्टामा २६५ जना नयाँ संक्रमितहरु फेला परेका छन् ।
त्यस्तै ओभरसिजमा एक जनामा संक्रमण देखिएको छ भने सात जना संक्रमितहरुको विषयमा थप अध्ययन थालिएको छ ।
यो सँगै न्यू साउथ वेल्समा संक्रमितको संख्या ७१ हजार ४६९ पुगेको छ ।
यस्तै वितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । जसमा चार जना महिलाहरु रहेका छन् भने एक जना पुरुष रहेका छन् ।
यो सँगै सिड्नीमा कोभिडबाट हालसम्म निधन हुनेको संख्या ४७५ पुगेको छ ।
हाल ६०६ जना अस्पतालमा उपचार गराइरहेका छन् भने जसमा १३२ जना आईसीयूमा रहेका छन् । ७१ जना भेन्टिलेसनमा रहेका छन् ।

वितेको २४ घण्टामा मात्रै ६० हजार भन्दा धेरै नमुनाहरु परिक्षण गरिएको थियो ।
हालसम्म न्यू साउथ वेल्समा ९२ प्रतिशत बढीले कोभिड विरुद्धको खोपको पहिलो मात्रा र ८० प्रतिशत बढीले दोस्रो मात्रा पाएका छन् ।






