पोखरा समाज अष्ट्रेलियाले बिपतमा सम्झियो जन्मभूमि

तक्दीर अधिकारी

सिड्नी । पोखरा समाज अष्ट्रेलियाले कोभिड-१९ ले सिर्जना गरेको विश्वव्यापी बिपतमा जन्मभूमिलाई सम्झेको छ । समाजले गण्डकी प्रदेशका दैनिक ज्यालादारी, मजदुर र समस्यामा रहेका विद्यार्थीलाई सहयोग उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजकुमार अधिकारीले विपद्का बेला मातृभूमिलाई आर्थिक सहयोग जुटाउने प्रस्तावलाई बैठकले पारित गरेको बताए ।

सचिव अर्जुन गुरुङले दिएको जानकारी अनुसार कोषाध्यक्ष ईश्वर पहारी सदस्यहरू प्रकाशमणि लामिछाने, कबिराज पौडेल लगायतले मातृभूमिलाई आर्थिक सहयोग जुटाउने अभियानलाई प्रभावकारी तवरले सम्पन्न गर्न जोड दिए ।

लामो समयदेखि लागू गरिएको लकडाउनले गण्डकी प्रदेशमा दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर र  विद्यार्थी समस्यामा परेको निष्कर्ष निकालेको छ । उनीहरुलाई सहयोग उपलब्ध गराउन पोखरा समाज अष्ट्रेलियाले  अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सङ्कट या यस्ता खाले महामारीमा देश बिदेशमा रहेका सबै नेपालीहरू एक भएर सङ्कटसँग जुध्नुपर्ने बताउदै सस्थाका महासचिव समित केसीले यो पवित्र अभियानमा सहयोगका लागि सबैमा अनुरोध गरेका छन्।