बेलायतमा रास्वपा प्रवास नेपाली सम्पर्क विभागले गर्र्यो वृहत सभा र समिति घोषणा

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग यूके कार्यसमितिको औपचारिक घोषणा गरिएको छ ।आइतबार लन्डन नर्थ हयारोस्थित ब्लु रुम स्पोर्टस् भेन्यूमा एक भेलाबीच यूके कार्यसमितिको औपचारिक घोषणा गरिएको हो ।विभागमा को को छन्-

उक्त भेलालाई भर्चुअल रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय उपसभापति डोलप्रसाद अर्यालले बधाई तथा शुभकामना दिएका थिए । उनले आफ्नो पार्टीलाई धेरै जिम्मेवारी आएको जनाउंदै बेलायत समितिलाई कत्ति विचलित नभइ केन्द्रसंग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रम सञ्चालक सहमहामन्त्री यज्ञराज कार्कीले कार्यसमिति गठनबारे संक्षिप्त जानकारी दिंदै पदाधिकारीको नाम घोषणा गरेका थिए भने सदस्य डा. राजु सापकोटाले भावी कार्ययोजना र मार्गचित्रबारे प्रकाश पारे । सभापति पवन शर्माले नेपालको समृद्धिका लागि अब एकजुट भएर काम गर्ने बेला आएको जनाउंदै सबैको रचनात्मक सुझाव सल्लाहको अपेक्षा व्यक्त गरे ।

उक्त अवसरमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेको औपचारिक घोषणा तथा कार्यसमितिको शपथ ग्रहण पनि गरिएको छ ।कार्यक्रममा जेष्ठ सदस्य ७६ बर्षिय बुद्धि रानाले कार्यसमितिलाई सपथ गराएका थिए ।कार्यसमिति सदस्य मनमाया गुरुङले उपस्थित सबैलाई विभागको तर्पबाट स्वागत गरेकी थिइन् ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर,सोम सापकोटा,नारायण फुयाल, अ.ले.चन्द्र बहादुर गुरुङ, राजकुमार त्रिपाठी,दिपक श्रेष्ठ, नारायण गाउँले, बिक्रम भट्टराई, हरी प्रसाद भुसाल, राजु कंडेल, भिम तामांग,आदर्श श्रेष्ठ, समिर प्याकुरेल,महेश अधिकारी लगायत बेलायतमा विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तित्व र सामाजिक अभियन्ताहरुले आफ्ना धारणा राखेका थिए ।

कुनै आसण ग्रहण, खादामाला र तडकभडकबिना सरल र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।