चितवन एड ट्रष्ट युकेले गर्यो मानवसेवा आश्रमलाई १ लाख सहयोग हस्तान्तरण

लण्डन । चितवन एड ट्रष्ट-यूकेले चितवनको बेलचोकमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष रितेशराज पाण्डे र महासचिव रमेश श्रेष्ठले भरतपूर महानगरपालिका, नारायणगढको बेलचोकमा अवस्थित मानव सेवा आश्रमका रामजी अधिकारीलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग ग्रहण गर्दै अधिकारीले सामाजिक सेवामा सक्रिय रहेको चितवन एड ट्रष्टले मानवसेवा आश्रमलाई गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । उनले लामो समय देखि वेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रित मानवहरूको उद्धारको सेवामा समर्पित संस्थाको वारेमा जानकारी समेत गराएका थिए ।

चितवन एड ट्रष्ट युकेका महासचिव रमेश श्रेष्ठले मानव सेवा आश्रमको बारेमा जानकारी लिने अवसर प्रदान गरेको भन्दै संस्था प्रति आभार व्यक्त गरे । मानव सेवाको तुलनामा सानो रकम भएपनि भविष्यमा संस्थाको दिर्घकालीन महत्व राख्ने गरी कसरी सहयोग गर्न सकिन्छ त्यसको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष रितेशराज पाण्डेले संस्थाको उद्धेश्य मुलत शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने भएता पनि मानव सेवा जस्तो परोपकारी कार्य गर्ने संस्थालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले संस्थाको वारेमा आफूले धेरै कुराको ज्ञान प्राप्त गरेको र भविश्यमा संस्थालाई के कसरी सहयोग गर्न सकिन्छ त्यसमा लागि कटिवद्ध रहने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेस नेता सुरेन्द्रराज पाण्डे, एसमोक्षधाम सेवा समितिका अध्यक्ष  ऋषि राज पाण्डे र उपाध्यक्ष ईश्वरी खरेल,समाजसेवी राम चन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।