लन्डन– बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट गोर्खा कपको तयारी तीब्र भएको छ । प्रतियोगिताका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । आगामी मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खा कपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० गरी ४२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक तमु धिं यूकेले आइतबार तमु भवन मिचेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा बेलायतबाहिरबाट समेत ५ टिम सहभागी हुन आउने जानकारी दिइयो । हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हंककंगबाट सहभागिता हुन लागेको हो । प्रतियोगिताको मुख्य तथा भेट्रान दुवै विधामा पहिलो हुने टिमलाई नगद २५ सय तथा दोस्रो हुने टिमलाई नगद १५ सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
दुवै विधामा उच्च गोल स्कोरकर्ता र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । यस वर्ष गोर्खाकप हेर्न ७ देखि १० हजार दर्शक उपस्थित हुने आयोजकको अपेक्षा छ । रश्मोर बरोकी मेयर काउन्सिलर सु कार्टर प्रमुख अतिथि रहने कार्यक्रममा एफए लिग प्रमुख लरेन्स जोन्स विशेष अतिथिका रुपमा सहभागी हुने बताइएको छ । तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खाकपको सफलतासँग बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र हित जोडिएको भन्दै सहभागिता तथा सहयोगको लागि अपील गरे । उपाध्यक्ष हितकाजी गुरुङले तमु धिं यूकेले आयोजना गरेपनि गोर्खाकप बेलायतबासी सबै नेपालीहरुको साझा कार्यक्रम रहेको भन्दै यसलाई सफल पार्न आव्हान गरे ।
प्रतियोगितास्थलमा नेपाली खानाका १० तथा आर्ट एण्ड क्राफ्टका ४२ वटा स्टल रहनेछन् । एनआरएनए यूकेले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रममा गराइनेछ । प्रतियोगिताको अनुमानित लागत ४० देखि ४५ हजार पाउण्ड रहेको तमु धिं यूकेले जनाएको छ । अघिल्ला वर्षहरुमा रहँदै आएको १ पाउण्डको प्रवेश शुल्कलाई बढाएर यसपटक २ पाउण्ड बनाइएको छ । प्रवेश टिकटहरुबाटै राफल ड्र गराएर भाग्यमानी १ जनालाई १ तोला सुनको पुरस्कार दिइनेछ । पत्रकार सम्मेलनमा तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र सुर्जे गुरुङ र कमल गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङसहित कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुलाई अध्यक्ष नन्दजंग गुरुङ र मिडिया सेक्रेटरी रोहित गुरुङले सम्मान गरेका थिए ।
बेलायतमा गोर्खा कपको वृहत तयारीमा जुट्यो तमु धिं यूके ४२ टिमबीच भीडन्त हुदै






