संयुक्त राष्ट्रसङ्ले म्यानमारलाई त्यहाँका मुस्लिम अल्पसङ्ख्यकको सम्मान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले सोमबार सो आग्रह गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा ती मुस्लिम अल्पसङ्ख्यकलाई नागरिकता प्रदान गर्न तथा नागरिकका रुपमा प्राप्त गर्न पाउनुपर्ने अन्य कुनैपनि सुविधाबाट वञ्चित नगर्न पनि आग्रह गरेको छ ।
यसअघि नै संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट सो निर्णय भएको र सोही बमोजिम नै मुस्लिम समुदायको अधिकारका लागि एक विशेष प्रस्ताव पनि पारित गरिएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको १९३ औं राष्ट्रसभाले सो विषयमा नयाँ निर्णयको बारेमा सोमबार मात्र जानकारी गराएको छ । यसअघि सो सभाले महिना दिनअघिमात्र उक्त प्रस्ताव पारित गरेको थियो । म्यानमारको पाखिन्ह राज्यमा रहेका रोहिन्ग्या अल्पसङ्ख्यक मुस्लिमहरुको अधिकारका बारेमा सो प्रस्ताव पारित गरिएको बताइएको छ ।
उनीहरुले विगत लामो समयदेखि आफूहरुले नागरिकता पनि प्राप्त गर्न नसकेको तथा राज्यले आफूहरुले प्राप्त गर्न पाउनुपर्ने आधारभूत अधिकार पनि नदिएको गुनासो गर्दै आएका थिए । म्यानमारका अधिकांश नागरिकले सो रोहिन्ग्या जातीलाई बङ्गलादेशबाट अवैध रुपमा प्रवेश गरेको जातीका रुपमा लिएका छन् । त्यसैले उनीहरुले उक्त जातीलाई नागरिकता पनि दिन नहुने बताउँदै आएका छन् । तर सो क्षेत्रका ती अल्पसङ्ख्यकहरुले भने आफूहरु म्यानमारकै आदिवासी भएको र आफ्ना कयौं पुस्तादेखि सो क्षेत्रमा बसोवास गर्दै आएको बताउने गरेका छन् । सोही विवादका कारण संयुक्त राष्ट्रसङ्घ समक्ष पुगेको उक्त मुद्दाका बारेमा राष्ट्रसङ्घले उक्त समूहका नागरिकलाई नागरिकता प्रदान गर्न आग्रह गरेको हो ।
म्यानमारलाई राष्ट्र सङ्घको आग्रह






