अधिवक्ता राधेश्यामदेखि जीतेन्द्र देवसम्म : यी हुन् काँग्रेसका उम्मेदवारहरु

काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा छनौट गर्न वाँकी रहेका १,२ र ३ नम्वर प्रदेशका उम्मेदवार नामावली टुंगो लगाएको छ । छनौट गरिएका उम्मेदवारहरुमा अधिवक्ता राधेश्याम अधिकारी र लोकतान्त्रिक फोरमबाट नेपाली काँग्रेसमा मिसिएका जीतेन्द्र देव पनि परेका छन् । अधिकारी र देव खुला समुहबाट छनौटमा परेका हुन् ।

यी हुन् उम्मेदवार :

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला)

सरिता प्रसाई (महिला)

प्रदेश नम्वर २

जीतेन्द्र नारायण देव (खुला)

मुक्ता कुमारी यादव (महिला)

प्रदेश नम्वर ३

राधेश्याम अधिकारी, काठमाडौं (खुला)

धना खतिवडा, ललितपुर (महिला)

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको थियो ।

बैठकले प्रदेश नं ४ मा सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपाङ्ग), प्रदेश नं ५ मा दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपाङ्ग) लाई उम्मेदवार बनाएको हो ।

त्यस्तै, काँग्रेसले प्रदेश नं ६ मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा (अपाङ्ग) लाई उम्मेदवार बनाएको छ । यसअघि पार्टीले सोमबार प्रदेश नं. ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग), र शेरीराम पार्की (दलित) लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । आयोगको तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।