काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि दोस्रो पटक पुनः आज जनकपुर जाने कार्यक्रम थियो । तर, मौसमको खराबीका कारण उनी काठमाडौँमै रोकिए । अव उनको जनकपुर यात्रा आजका लागि रद्द भएको छ ।
२०७५ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएको बेला प्रधानमन्त्री जनकपुर पुगेका थिए । २०७० पछि उनी पहिलो पटक त्यहाँ पुगेका थिए । मधेसप्रति तीखो टीकाटिप्प्णीका कारण उनी त्यहाँ विवादमा परेका थिए ।
विवादमा परेका कारण उनी मधेस प्रदेशका ८ वटा जिल्लामा गएका थिएनन् । आन्दोलनका बेला पनि उनी मधेसमा गएर कार्यक्रम गर्ने तयारी नगरेका भने होइनन् । त्यसका लागि निकै प्रचार प्रसार भएको पनि थियो । तर मधेसवादी दलका नेता तथा कार्यकर्ताको चेतावनीपछि तनाव उत्पन्न हुन सक्ने भयले उनी कहिल्यै मधेस गएका थिएनन् ।
२०७३ फागुन २३ गते मेची महाकाली अभियान लिएर ओली सप्तरी पसेका थिए । सुरक्षा निकायदेखि हरेक क्षेत्रले ओलीलाई सप्तरी नजान आग्रह गरेका थिए । उनी त्यहाँ जाँदा भएको तनावमा पाँच जनाको ज्यान गएको थियो ।
त्यसपछि मोदी जनकपुर आएको बेला उनी त्यहाँ पुगेका थिए । त्यो दिन पनि ओलीको विरोध गर्ने तयारी पनि भएको थियो । स्थानीय केही सङ्घ संस्थाले विरोध गर्ने तयारी गरेको थिए । तर उनी हेलिकप्टरबाट उच्च सुरक्षा घेरामा रहेर जानकी मन्दिर पुगेका थिए ।
मोदीसँग जानकी मन्दिरमा समय विताएका ओली जानकी मन्दिरबाट काठमाडौँ फर्केका थिए । जब कि जनकपुरको बाह्रबिघामा हुने नागरिक अभिनन्दन कार्यक्रममा स्वागत मन्तव्य दिने ओलीको तयारी थियो ।
बाह्रबिघाकै कार्यक्रममा ओलीको विरोध हुने थाह पाएर उनी आफ्नो ठाउँमा रक्षा मन्त्री ईश्वर पोखरेललाई पठाएर काठमाडौँमा फर्केका थिए ।
मोदीको स्वागतको बाहानामा जनकपुर छिरे पनि मधेसमा ओलीको पक्षमा माहोल अझै बनेको छैन ।
उनी कुनै कार्यक्रम बनाएर जनकपुर जाने तयारी थिए । यद्यपि उनलाई मौसम आज साथ दिएन् । जनकपुरमा पनि मुसलधारे वर्ष भइरहेको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली ११ बजे नै जनकपुर पुग्ने कार्यक्रम थियो ।
तर मौसम बिग्रेका कारण उनी जान पाएनन् । हेलिकप्टरबाट ११ बजे नै जनकपुर गएर कार्यक्रम उद्घाटन गर्ने तयारी थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डित, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर पनि सहभागी हुने कार्यक्रम थियो ।
त्यसमध्ये नेता नेपाल, संयोजक ठाकुर हिजै जनकपुर पुगिसकेका छन् भने मन्त्री उपेन्द्र यादवको जनकपुर जाने कार्यक्रम रद्द भएको छ ।
‘भिजन २०३०’ नाम दिएको यो गोष्ठी दुई दिनसम्म चल्नेछ ।
दुई दिनसम्म चल्ने यो कार्यक्रममा अर्थ, कृषि, सामाजिक विषयवस्तु र पूर्वाधार गरी चार विषयमा बहस हुनेछ ।
प्रधानमन्त्री ओली यही कार्यक्रममार्फत मधेसमा प्रवेश गर्न लागेको बुझाइ पनि छ ।
प्रदेश २ का एकजना मन्त्रीले भने,‘ यो कार्यक्रममा प्रधानमन्त्री नआए पनि हुन्थ्यो तर मधेसमा सहज ढङ्गबाट प्रवेशका लागि आफ्नो बाटो तयार गर्न कार्यक्रममा सहभागी हुन लाग्नुभएको छ ।’






