हराएको जहाजका केही टुक्रा भेटियो

एयरएसियाको हराइरहेको विमानका केही टुक्राहरु समुद्रमा देखिएको बताइएको छ । खोजी कार्यमा खटिरहेको इमरजेन्सी समूहका सदस्यले समुद्रमा उक्त विमानका केही भाग र ढोकाजस्तो देखिने सेतो वस्तु भेटिएको बताएका हुन् ।
खोजीकार्य विशेष प्रविधि र अग्रसरताका साथ भइरहेको भन्दै सोमबार उक्त विमानकाजस्ता देखिने केही सेता भाग र टुक्राहरु एरियलबाट देखिएको तर त्यसको फोटो लिन सम्भव नभएको बताएका हुन् । उक्त विमान गत आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेको थियो । तर उडेको केही बेरपछि नै विमान बेपत्ता भएको थियो ।
मङ्गलबार बिहान गरिएको पत्रकार सम्मेलनमा इन्डोनेसियाली एयर फोर्सका अधिकारीले मध्य कालिमातान प्रदेशको समुद्रमा सो वस्तु भेटिएको पाइएको जानकारी दिए । उनले भने– हामीले स्पष्ट रुपमा फोटो लिन त सम्भव भएन तरपनि एरियलबाट ती वस्तु देखेका छौँ अब नजिकै गएर त्यस बारेमा अनुसन्धान गरिने छ ।
सो जहाजको अन्तिम सम्पर्क विच्छेद भएको स्थान नजिकै ती वस्तु भेटिएकोले उक्त जहाज दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको ती अधिकारीले जानकारी दिए । उक्त पत्रकार सम्मेलनमा ती अधिकारीले जहाजको ढोकाजस्तो देखिने वस्तु, लाइफ ज्याकेट, इमरजेन्सी स्लाइडजस्ता देखिने वस्तुहरु टाढैबाट लिएको फोटो भन्दै प्रदर्शन गरेका थिए । उद्वारका लागि गएको सो विमानमा रहेका एकजना एएफपीका फोटोग्राफरले पनि समुद्रमा तैरिएको अवस्थामा लामो खालको लाइफ ज्याकेट आफुले देखेको जनाएका थिए ।
निकै टाढाबाट लिइएको सो तस्वीरमा सुन्ताला रङ्गका केही वस्तुहरु समुद्रको पानीमा तैरिएको अवस्थामा देखिएको उनले जनाएका छन् । ती वस्तु के हुन् भन्ने बारेमा पत्ता लगाउन एक विशेषज्ञको टोली त्यहाँ पठाइएको र त्यस बारेमा मङ्गलबार सबै स्पष्ट हुने जानकारी उनले दिएका छन् ।