लन्डन । गैरआवासीय नेपाली अभियानका संस्थापक तथा चर्चित व्यवसायी डा. उपेन्द्र महतोले नेपाललाई मेडिकल टुरिज्मको केन्द्रको रुपमा विकास गर्ने आफ्नो सपना रहेको बताएका छन्।
रु १,००० करोडको लगानीमा नेपाल मिेडिसिटी हस्पिटलको स्थापना गर्न लागेका महतोले सोमबार लण्डनको स्टानमोरस्थित एभरेष्ट एबरकर्न रेष्टुराँमा नेपाली चिकित्सक, नर्स, तथा एनआरएन अगुवाहरुसंगको भेटमा उनले त्यस्तो बताएका हुन्।
नेपालीहरुलाई गुणस्तरीय सेवा प्रदान गरी उपचारकालागि विदेश जानु नपर्ने गराउने र विदेशबाट बिरामीहरु आकर्षित गरी नेपाललाई मेडिकल टुरिज्मको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफुले स्वास्थ्य क्षेत्रमा लगानी गरेको उनले बताए।
“नेपालको मौसम, अतिथि देवो भव भन्ने संस्कार र भरपर्दो गुणस्तरीय सेवाले गर्दा पनि उपचारकालागि विदेशबाट बिरामीहरु आउने मैले विश्वास लिएको छु,” महतोले भने।
ललितपुरमा मेडिसिटि
ललितपुर, सैंबुमा ३० रोपनी जग्गामा निर्मित ३५० बेडको अस्पताल यही जुलाई महिनाको अन्त्यतिर शुरु गर्न लागेको महतोले बताए। अस्पताललाई एक वर्षभित्र ५०० बेड क्षमताको बना्इने र पछि ७५० बेड पुराई सुपरस्पेशलटी हस्पिटलको रुपमा विकास गर्ने योजना पनि उनले सुनाए।
काठमाडौं उपत्यकाभित्र ५ वटा र काठमाडौं बाहिर ५ वटा गरी १० वटा अस्पतालहरु बनाउने योजना बताउँदै डा. महतोले शुरुको जोखिम आफैले उठाउने बताए।
पछि थप गरिने अस्पतालहरुमा लगानी गर्न उनले एनआरएनहरुलाई आह्वान पनि गरे।
उनले विदेशमा बसीरहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा रहेका आफ्ना परिवारजन र इष्टमित्रलाई स्वास्थ्य बीमा गर्न उत्प्रेरित गर्न पनि आग्रह गरे।“स्वास्थ्य सेवा निशुल्क भन्ने संभव छैन तर उपचार नपाएर कोही पनि मर्नुहुँदैन। त्यसैले हाम्रो जस्तो देशमा स्वास्थ्य बीमा नै सबैभन्दा भरपर्दो विकल्प हो,” महतोले भने।
एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा आयोजित अन्तरकृयामा एनआरएनका युरोप संयोजक कुल आचार्य, एनआरएन आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डित समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), नेपलिज
डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. बिना सुब्बा लगायतले बोलेका थिए । सचिव कृष्ण तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा डा. कपिल रिजाल, डा. राजेन्द्र थापा, लक्ष्य गुरुङ, शान्ति थापा कुंवर डा. मिन रानाभाट लगायतका वक्ताहरुले नेपालको विकासमा एनआरएनहरुले पुराएको योगदानको चर्चा गरेका थिए।
[भिडियो सहित]






