काठमाडौं- भोली (असार १४ गते) हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
बुधबार बिहान ७ बजेअघि वर्षा भए पनि ७ बजेपछि प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचन हुने प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा बुधबार मध्याह्नपछि भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरूमा सामान्य वर्षा हुनेछ ।
प्रदेश–५ र ७ प्रदेशमा भने ७ बजेदेखि नै बादलले ढाके पनि पानी नपर्ने जनाएको छ । ‘मनसुनको समय भएकाले मुलुकमा मनसुन सक्रिय अवस्थामा नै छ,’ मौसमविद् समीर श्रेष्ठका अनुसार बिहानको समयमा कम वर्षा भए पनि मध्याह्नपछि भने बढी वर्षा हुने सम्भावना छ ।
लगातार झरी नपरे पनि मौसम बदली भई कुनै पनि बेला पानी पर्ने अनुमान छ । पहाडी जिल्लामा मतदाताहरूको आवतजावत गर्न कठिन हुने भएकाले बिहानको समयमा मतदानमा सरिक हुँदा भिज्ने सम्भावना कम रहेको मौसमविद बताउँछन् ।






