सीमा नाकामा पक्की पुलका लागि पहल हुँदैछ : कमल थापा

Kamal-Thapa-RPPबैतडी- उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झुलाघाट पक्की पुल निर्माणका लागि पहल भइरहेको बताउनुभएको छ ।

बैतडीमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले बैतडीको सीमा नाका झुलाघाटमा पक्की पुल निर्माणका लागि राजनीतिक तहमै छलफल सुरु भइसकेको बताउनुभयो । दार्चुलामा पनि पुल बनाउनका लागि अब छलफल गर्छौं उहाँले भन्नुभयो–“परराष्ट्र मन्त्रीस्तरीय बैठकमा आफूले यी दुवै पुल निर्माणका लागि पहल गर्ने छौँ ।”

राप्रपा नेपालले आयोजना गरेको हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्नका लागि बैतडी पुग्नुभएका मन्त्री थापाले जिल्लामा भइरहेको विकास निर्माण सन्तोषजनक भएको भए पनि उत्साहप्रद नभएको बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्री थापाले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।