इटहरी- इटहरी उपमहानगरपालिका–१६ स्थित न्यु जय नेपाल इँटाभट्टामा साँझ जलाइराखिएको चिम्नी ढल्दा इँटाभट्टामा कार्यरत सात कामदारको मृत्यु भएको छ ।
अकस्मात् चिम्नी ढलेपछि इँटाभट्टा क्षेत्रमा भागदौड र कोलाहल मच्चिएको भट्टा आसपासका बासिन्दाले बताएका छन् । चिम्नी ढलेपछि भट्टा क्षेत्रमा ठूलो आगोको मुस्लोसहित धुवाँ फैलिएको निकै टाढाबाट समेत देखिएको बताइएको छ ।
त्रुटिपूर्ण ढङ्गले चिम्नी ठड्याएर इँटा पोल्नका लागि आगो लगाइएको अवस्थामा चिम्नी ढलेको र त्यहाँ कार्यरत मजदुरमाथि बज्रन पुग्दा ती कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा भारत विहार घर भएका कामदार ५० वर्षीय गरिबलाल पासवान, ३५ वर्षीय मिथिलेश पासवान, १६ वर्षीय सलुन मिया, १५ वर्षीय सग्दाम हुसैन र १२ वर्षीय राहुल तथा इटहरी उपमहानगरपालिका १६ एकम्बाकी ६० वर्षीया गलदीदेवी चौधरी र इटहरी २० पकलीका शिवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
सबैको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । चिम्नी ढलेर पुरिएको अवस्थामा प्रहरी र स्थानीयवासी तथा एस्काभेटरको प्रयोग गरेर ढलेको चिम्नी हटाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताउनुभयो ।
सो घटनामा २५ भन्दा बढी कामदार घाइते भएको तथा घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सामान्य घाइतेको पकली भासी झुम्का इनरुवा र इटहरीलगायत क्षेत्रमा रहेका उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






